विद्युत् प्राधिकरणको नाफा३७.३२ प्रतिशतले घट्यो

काठमाडौ।
नेपाल विद्युत् प्राधिकरण नाफा घटेको छ । गत आर्थिक वर्ष २०८१/०८२मा अगिल्लो आर्थिक वर्षको तुलनामा प्राधिकरणको नाफा ३७.३२ प्रतिशतले घटेको हो ।
प्राधिकरणको चालिसौ वार्षिकोत्सव समारोहमा सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार प्राधिकरणले गत आवमा करचुक्ता पुर्व ९ अर्ब ६ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । यस्तो नाफा आर्थिक वर्ष २०८०/०८१मा १४ अर्ब ४६ करोड रुपियाँ थियो ।
प्राधिकरणको सञ्चालन खर्चमा आएको वृद्धि, विदेशी मुद्रा विनिमय प्रभाव र जोखीम कोषमा रकम जम्मा गर्नुपर्दा नाफामा कमी आएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको दाबी छ ।
। वित्तीय विवरण अनुसार खुद सञ्चालन खर्च १ वर्षको अवधिमा २अर्ब १० करोड रुपियाँले बढेको छ । त्यस्तै विनिमय दर परिवर्तनका कारणमात्रै २ अर्ब २५ करोड रुपियाँ थप व्ययभार थपिएको प्रतिवेदनमा उल्लेख छ । शाक्यका अनुसार गत आवमा ५ अर्ब रुपियाँ जोखिम कोष(प्रोभिजनिङ)का लागि छुट्टयाइएकाले पनि नाफा घट्न पुगेको हो । समग्रमा अगिल्लो आर्थिक वर्षभन्दा गत आवमा प्राधिकरणको नाफा ५ अर्ब ३९ करोड रुपियाँले कमी आएको छ ।
कुल व्यवसाय ८.४ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब २७ करोड पुगे पनि विद्युत् विक्रीको मूल्यमा आएको कमिका कारण पनि प्राधिकरणको नाफा खस्कन भूमिका खेलेको देखिन्छ । अगिल्लो आवमा औषत ९ रुपियाँ ४८ पैसा प्रतियुनिट मूल्य आएकामा गत आवमा ९ रुपियाँ १३ पैसा पाएको देखिन्छ।
शाक्यले दिएको जानकारी अनुसार ९८ प्रतिशत भुभागमा राष्ट्रिय ग्रिड पुगिसकेको छ भने प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ४२० युनिटबाट बढेर ४६५ पुगेको छ । विद्युत् चुहावट पनि ०.४७ प्रतिशत विन्दुले घटेर १२.२६ कायम भएको छ ।
प्राधिकरणको एक वर्षे उपलब्धी सार्वजनिक गर्दै शाक्यले गत अवमा कुल ४३४ मेगावाट विद्युत् उत्पादन थप भएको छ भने २५३ सर्किट किलोमिटर प्रशारणलाइन थप भएर कुल ६ हजार ७६० सर्किट किलोमिटर पुगेको छ । प्रशारण सबस्टेसनको क्षमता १ हजार ७३एमभीए थपिँदा कुल १४ हजार १२३एमभीए पुगेको छ ।
