तयार हुँदै नागढुङ्गा सुरुङमार्ग, दशैतिहारमा यात्राको आश
काठमाडौं ।
सरकारको योजना अनुसार काम भयो भने यसपालीको दशै तिहारका क्रममा काठमाडौबाट घर आवतजावतका क्रममा सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग प्रवेश गरी जान पाइने छ । तर यो अनुभव लिन दुईपाँग्रे सवारीले भने पाउने छैनन् । चार पांग्रेले भने पटके शुल्क तिरेरमात्रै प्रवेश पाउने छन् ।
सडक विभाग मातहत रहेको यो सुरुङ सञ्चालन विभाग आफैले चलाउने हिम्मत भने जुटाउन सकेको छैन । यससम्बन्धी अनुभव नभएकाले विभागले विदेशी कम्पनी ल्याएर सञ्चालन गर्ने र त्यसका गतिविधिलाई नियमन तथा अनुगमन भन हालको परामर्शदाताले गर्नेछ ।
‘सुरूङमार्ग असोजमा सम्पन्न गरेसँगै यसको सुरक्षा प्रबन्ध, ट्राफिक व्यवस्थापन, अग्नि नियन्त्रण, सुरूङमार्ग प्रयोगकर्ताबाट उठाउने टोल (शुल्क), मर्मतसम्भारजस्ता गम्भिर बिषयलाई एकैसाथ व्यवस्थापन गर्ने गरी विदेशी कम्पनी ल्याउन बोलपत्र आह्वानको तयारी गरिरहेको विभागले जनाएको छ ।
मुख्य सुरूङ छेडिसकेको २ हजार ६ सय ८८ मिटरलामो यो सुरूङभित्र ‘फिनिसिङ’ को काम भइरहेको छ । हाल आयोजनामा लाइटिङ, आगलागी भए नियन्त्रण गर्ने, कालोपत्रे (ढलान) जस्ता काम भइरहेको छ । त्यस्तै सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने उपकरण जडान, रेस्क्यु सेन्टर निर्माण, कन्ट्रोल सिस्टम जडान, टेलिफोन जडान, लाइट जडान, तापक्रम मिलाउने उपकरण जडानलगायतका दर्जनौं प्राविधिक काम धमाधम भइरहेको छ ।
दुवैतर्फको टनेल अपरेशनल बिल्डिङ्ग नजिकै टोलगेट निर्माण हुनेछ । टोलगेटसँगै २४ सैं घन्टा सुरक्षाकर्मी, आपतकालीन समयको लागि प्राथमिक चिकित्सकको टोली, एम्बुलेन्स, टनेल प्रविधिसम्बन्धी प्राविधिक कर्मचारीलगायतको उपस्थिति रहनेछ ।
मुख्य सुरुङमार्ग भित्र भने ६० किलोमिटरको गतिमा मात्रै सबारी साधन गुडाउन पाइनेछ । यो सुरुङमार्ग पार गर्न ३ मिनेटलाग्ने छ ।
यो आयोजना साढे तीन वर्षमा सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । सुरूङमार्गको मुख्य सुरूङ २०८१ वैशाख ३ गते छिचोलिएको थियो । उक्त सुरूङ सन् २०२३ को अप्रिलमा सम्पन्न गर्ने गरी जापानको हाजमा एण्डो कर्पोरेशनसँग सम्झौता भएको थियो ।
कोरोना महामारी र स्थानीयको विवादले पटकपटक सुरूङमार्ग निर्माण अवरुद्ध भएपछि म्याद थपिएको थियो । थप भएको म्याद अनुसार सम्पन्न गर्नुपर्ने २०२५ अक्टोबरसम्म तोकिएको छ । नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच यो सुरूङमार्ग बनाउन सन् २०१६ मा सम्झौता भएको थियो ।
परियोजनामा नेपालले जाइकाबाट लिएको १६ अर्ब रुपैयाँ ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको गत् बैशाख ३ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्रेक थ्रु गरेका थिए ।एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ कात्तिकमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु गरिएको थियो ।