पश्चिम सेती विद्युत् कोरिडोर विकसित गर्न बहुपक्षीय समझदारी

काठमाडौँ,
पश्चिम नेपालको महत्वपूर्ण विद्युत् करिडोर पश्चिम सेती कोरिडोरमा जलविद्युत् आयोजना विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार पाँच विभिन्न संस्थाहरुबीच समझदारी भएको छ ।
पश्चिम सेती कोरिडोर अन्तर्गतका जलविद्युत् आयोजना र प्रसारण पूर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सझदारी गर्ने कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल), राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजिसिएल) चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेड (सिजेसिएल) , चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेड (सिएसएचसी) र समृद्धि इन्जी लिमिटेड (एसइएल) रहेका छन् ।
एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापा, प्रसारण कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठ, चैनपुर सेतीका प्रमुख कार्यकारी अधिकृत अनिलभक्त श्रेष्ठ, चिलिमेका नारायणप्रसाद आचार्य तथा जलविद्युत् उद्यमी शैलेन्द्र गुरागाईं लगायतले समझदारीपत्रमा संयुक्तरूपमा हस्ताक्षर गरे ।
समझदारीअनुसार, बझाङ–निलेगडा–दोधारा ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा सो लाइनमा जोडिने तीनवटा जलविद्युत् आयोजना—चैनपुर सेती (२१) मेगावाट), सेती नदी–३ (८७ मेगावाट) र बझाङ माथिल्लो सेती (२१६ मेगावाट)—को निर्माण, वित्तीय स्रोतको परिचालन र सञ्चालनमा बहुपक्षीय सहकार्य हुने जनाइएको छ । समझदारी अनुसार एचआईडिसिएलले परियोजनाहरूको वित्तीय व्यवस्थापनको नेतृत्व गर्नेछ भने प्रशारण ग्रिड कम्पनीले आवश्यक मोडल तय गरी प्रसारण लाइन निर्माण र सञ्चालनको जिम्मेवारी सम्हाल्नेछ ।
सम्झदारीमा हस्ताक्षर भएका आयोजनामध्ये अधिकांशले निर्माण अनुमति, वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत् खरिद सम्झौता, ग्रिड जडान तथा लगानी स्वीकृतिका प्रमुख चरण पार गरिसकेको जनाइएको छ । प्रसारण लाइनसम्बन्धी अध्ययन, डिजाइन तथा जग्गा अधिग्रहण कार्यहरू समेत सम्पन्न भइसकेका मन्त्रालयले जनाएको छ ।
