मौद्रिक नीतिको लचिलोपनमा निरन्तरता
काठमाडौं ।
चालु आर्थिक वर्षका लागि लचिलो तर सजगतापूर्ण मौद्रिक नीति अख्यितार गरेको नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक समिक्षाका क्रममा निरन्तरता दिएको छ । शिथिल आर्थिक अवस्थामा खासै परिवर्तन नआएका कारण केन्द्रिय बैंकले पहिलो त्रैमासिकमा समीक्षा मार्फत केन्द्रीय बैंकले नियामकीय, सुपरिवेक्षकीय तथा नीतिगत दरहरु यथावत राखेको छ ।
मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ । त्यसैगरी अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत राखेको समीक्षामा उल्लेख छ ।
केन्द्रीय बैंकले आगामी दिनमा सरकारले निर्माण क्षेत्रमा गर्ने खर्चले अर्थततन्त्र चलायमान हुने तर सरकारी वित्त अवस्था भने दवाबमै रहने आँकलन गरको छ । विप्रेषण आप्रवाहमा भएको वृद्धिलगायतका कारण २०८१ असोजमा कायम विदेशी विनिमय सञ्चितिले १४.६ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या वृद्धि भई विप्रेषण आप्रवाहमा समेत वृद्धि हुने अनुमानका आधारमा चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि विदेशी विनिमय सञ्चिति सुविधाजनक रहने केन्द्रीय बैंकको अनुमान छ ।
लु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । त्यसैगरी चालु आवको मूल्यवृद्धि ५.५ प्रतिशतको सीमा भित्र रहने सरकारको प्रक्षेपण रहेकामा पहिलो ३ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ । २०८१ असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत रही वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको जनाइएको छ ।
्आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२.० प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।