Back To Top

October 18, 2024

अर्थ मन्त्रालयको कार्यप्रगति सार्वजनिक

Global Ime Bank

काठमाडौं,
अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेशजस्ता कार्यलाई मन्त्रालयले उल्लेख्य उपलब्धी मानेको छ ।

अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईका अनुसार तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गत वर्षको यसै अवधिको तुलनामा पूँजीगत खर्च र राजस्व सङ्कलन बढेको, व्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पूँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति बढेको, रेमिट्यान्स वृद्धि भएकोलाई अर्थमन्त्रालयले उपलब्धीका रुपमा हेरेको छ ।

पूँजीगत खर्च गत वर्षको यसै अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको र राजस्व सङ्‍कलन गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएको अर्थमन्त्रालयले जनाएको छ ।

यसैगरी विदेशी मुद्राको सञ्चिति हालसम्मको उच्च २१ खर्ब ५२ अर्ब रुपैँया रहेको छ। रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको छ भने व्याजदर घटेर औषत ६.१५१ प्रतिशत कायम भएको विवरणमा उल्लेख छ।

अर्थले उल्लेख गरेका तीन महिनाका महत्वपूर्ण कार्यहरूमा बजेट कार्यान्वयन गर्न ७३ बुँदे मार्गदर्शन तथा कार्ययोजना तर्जुमा गरेको ,अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको तथा राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठनलाई महत्वपूर्ण उपलब्धी भनिएको छ ।

नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अगाडि बढाइएर प्रतिवेदन हातपर्ने अवस्थामा रहेको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, को संशोधन विधेयक सङ्‍घीय संसदमा पेश गरेको छ ।

तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु तथा बिरगञ्ज भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयमा ल््याव मोड्युल सुरु गर्नुलाई पनि मन्त्रालयले उपलब्धी का रुपमा चर्चा गरेको छ ।

गत असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

Prev Post

काबेली प्रसारणलाइन मर्मतमा प्राधिकरण र निजी क्षेत्र साथसाथ

Next Post

विपतले बिग्रिए काभ्रेका १७० विद्यालय

post-bars

Leave a Comment