मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला

काठमाडौ ।
सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ। विशेष अदालतले बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय सुनाएको हो।
उनीहरूलाई जनही ८ वर्षका दरले कैद तोकिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते कसुरदार ठहर गरे पनि बिहीबार सजाय निर्धारण गरेको हो।
उनीहरूलाई जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसाका दरले असुलउपर गर्ने ठहर भएको छ। यस्तै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा दाखिला गराउनेसमेत फैसला भएको छ।
