Back To Top

March 15, 2026

३० जना हुँदा ऋण लिएर उद्यम गर्ने १ जना मात्रै

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

बैंक तथा वित्तिय संस्थामा खोलिएको निक्षेप खाता ऋण लिने भन्दा ३० गुणा बढी रहेको पाइएको छ । बैंकमा पैसा जम्मा गर्ने ३० जना हुँदा ऋण लिएर उद्यम गर्ने १ जना मात्रै रहेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता ६ करोड नाघिसक्दा कर्जा खाता भने २० लाख मात्र रहेको छ । बैंक तथा वित्तीय संस्थामा पैसा राख्नेहरु बढे पनि त्यसअनुसार ऋण लिनेहरु नबढ्दा निक्षेप र कर्जा खाताबीचको खाडल चुलिँदै गएको हो ।

चालु आर्थिक वर्ष २०८२-८३ को माघ मसान्तसम्ममा निक्षेप खाताको सङ्ख्या ६ करोड १८ लाख ५१ हजार हुँदा कर्जा खाता भने २० लाख ३४ हजार मात्र रहेको केन्द्रिय बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थामा रकम राख्नका लागि खुलेका निक्षेप खाताको तुलनामा ऋण लिनका लागि खोलिएका खाताको संख्या झण्डै ३० गुणा कम रहेको पाइएको छ । बैंकिङ प्रणालीमा निक्षेपकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहे पनि कर्जा लिनेहरूको सङ्ख्या भने निकै सुस्त गतिमा बढिरहेको छ । यसले नेपालीहरू बैंकमा पैसा जम्मा गर्न त उत्साहित रहेको तर त्यो पैसा लिएर कुनै व्यवसाय वा उद्यममा लगाउन भने इच्छुक नभएको संकेत गर्दछ ।

गत आर्थिक वर्ष २०८१-८२ को तुलना अवधीमा निक्षेप खाताको संख्या ५ करोड ८१ लाख ७२ हजार र कर्जा खाता १९ लाख २९ हजार रहेको थियो । उक्त तथ्यांक अनुसार एक वर्षको अवधीमा निक्षेप खाता ३६ लाख ७८ हजारले बढ्दा कर्जा खाता १ लाख ५ हजारले मात्र बढेको हो ।

पछिल्लो समयमा आर्थिक गतिविधिहरु विस्तार नहुँदा कर्जा लिनेको संख्यामा आएको संकुचनका कारण पनि निक्षेप खाता र कर्जा खाताबीचको अन्तर बढ्दै गएको हो । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपकर्ताहरुबाट बचत संकलन गर्ने र सोही बचत रकम आवश्यक परेका बेला ऋण प्रदान गर्ने गर्छन् । तर, पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको सुस्तताले गर्दा बचत खाता वृद्धिको तुलनामा कर्जा खाताको वृद्धिदर निकै कम रहेको छ । बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा कर्जा खाता खोल्ने क्रम घटेकाले यस्तो अन्तर बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार, निक्षेप खाताको संख्या धेरै हुनुमा एउटै व्यक्तिको धेरै बैंकमा खाता हुनु मुख्य कारण हो । सर्वसाधारणले ब्याजदरमा हुने भिन्नता, पहुँच र विभिन्न प्रयोजनका लागि एकभन्दा बढी बैंकमा खाता खोल्ने गरेका छन् । यसका अतिरिक्त विभिन्न संघ–संस्थाहरूको पनि धेरै बैंकमा खाता रहने भएकाले निक्षेप खाताको संख्या जनसंख्याभन्दा दोब्बर धेरै देखिएको हो ।

कर्जा खाताका लागि भने निश्चित परियोजना, व्यवसाय र बैंकको मापदण्ड पूरा गर्नुपर्ने भएकाले निक्षेपको तुलनामा यसको संख्या कम हुने उनी बताउँछन् । ‘निक्षेप राख्नका लागि जसरी खाता खोल्नेहरू बढिरहेका छन् त्यसअनुसार कर्जा लिएर उद्यम गर्न चाहानेहरु बढ्न सकेका छैनन् ।’ उनले भने, ‘कर्जा खाताको सुस्त वृद्धिले बजारमा नयाँ उद्यमशीलता र लगानीको वातावरण अझै उत्साहजनक नरहेको देखाउँछ ।’

निक्षेप र कर्जा खाताबीचको खाडलले नेपालमा बैंकसम्म पुग्ने पहुँच विस्तार भए पनि बैंकबाट पैसा लिएर उद्यम गर्ने पहुँच अझै पनि आम नागरिकसम्म पुग्न नसक्दा कर्जा खाता कम भएको पूर्व बैंकर भुवन दाहाल बताउँछन् । ‘अझै पनि नेपालीहरू ऋण लिएर उद्यम गर्न हिचकिचाउँछन् ।’ उनले भने, ‘उद्यमशीलता भन्दा जागिर रोज्ने धेरै छन्, जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा खाता बढ्न सकेन ।’

कुन बैंकमा कति खाता ?

बैंक तथा वित्तीय संस्थामध्ये सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमा मात्र ५ करोड ३० लाख ३९ हजारभन्दा बढी निक्षेप खाताहरू छन् । तिनै वाणिज्य बैंकहरूमा कर्जा खाता भने १६ लाख ९० हजार मात्र छन् । यसले निक्षेपकर्ताको तुलनामा ऋण लिने ग्राहकहरूको संख्या निकै कम रहेको देखाउँछ । गत वर्ष वाणिज्य बैंकहरुमा निक्षेप खाता ४ करोड ९८ लाख ६८ हजार हुँदा कर्जा खाता भने १६ लाख ११ हजार रहेको थियो ।

सञ्चालनमा रहेका १७ विकास बैंकहरूमा ७७ लाख ३५ हजार निक्षेप खाता हुँदा कर्जा खाता संख्या २ लाख ६७ हजार मात्र छन् । यस्तै, सञ्चालनमा रहेका १७ वित्त कम्पनीहरूमा पनि १० लाख ७६ हजार निक्षेप खाताको तुलनामा ७६ हजार मात्र कर्जा खाता रहेका छन् ।

बैंकमा पैसा थुप्रिनु तर त्यौ पैसा बजारमा लगानी नहुनु अर्थतन्त्रको दिगोपनको लागि शुभ संकेत नभएको विज्ञहरू बताउँछन् । मानिसहरूले बैंकबाट ऋण लिएर नयाँ व्यवसाय र उद्यम सुरु नगर्दासम्म रोजगारी र उत्पादनमा वृद्धि नहुने उनीहरू बताउँछन् । त्यसैले बैंकहरूले ऋण दिने प्रक्रियालाई सरल बनाउनुपर्ने र सरकारले पनि लगानीको उचित वातावरण सिर्जना गर्नुपर्ने उनीहरू बताउँछन् ।

United long banner ad
Prev Post

ठूलोखोलाको बिजुली केन्द्रिय प्रशारण लाइनमा

post-bars

Leave a Comment