राजावादीको प्रर्दशनले यस्तो क्षति

काठमाडौं ।
जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको विवरण सार्वजनिक गरेको छ ।
परिसरले घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भए ।
यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जनाइएको छ ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिएको भए पनि निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ। प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।