लोन पोर्टफोलियो रिभ्युको जिम्मा बंगलादेशी कम्पनीलाई

काठमाडौं ।
नेपालका १० ठूला बैंकको ऋण लगानीको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) गर्न बंगलादेशी कम्पनीले अन्तर्राष्ट्रिय अडिटको जिम्मा पाएको छ ।
१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युको लागि प्रस्ताव पेश गरेका कम्पनीमध्ये बंगलादेशको लेखापरीक्षक फर्म हाउल्याडर युनुस एन्ड कम्पनी छनोट भएको राष्ट्र बैंकले जनाएको छ ।
कन्ट्रयाक्ट अवार्डबारे राष्ट्र बैंकले निकालेको सूचनाअनुसार हाउल्याडरले कन्सल्टेन्सी कार्यका लागि भ्याटबाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६ सय ७९ अमेरिकी डलर रुपैयाँ पाउनेछ । पोर्टफोलियो रिभ्युमा कुल ४ करोड ९४ लाख रुपैयाँ खर्च हुने राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार प्राविधिक प्रस्तावमा एकमात्र योग्य देखिएको कम्पनीले आर्थिक प्रस्तावमा समेत गरेर सबैभन्दा बढी अंक पाएको थियो ।
यससँगै डेढ वर्षदेखि गर्ने भनिएको बैंकहरुको लोन पोर्टफोलियो रिभ्युको कामले गति पाउनेछ । केन्द्रीय बैंकले २०८० चैतमा १० ठूला बैंकको अन्तर्राष्ट्रिय अडिट गर्ने काम थालेको थियो ।
नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्राकोषसँग ३९ करोड ५९ लाख अमेरीकी डलर बराबरको विस्तारित कर्जा सुविधाको लागि सम्झौता गरेको थियो । नेपाल सरकारले वित्त क्षेत्र र मौद्रिक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाउँदै आईएमएफसँग २०७८ पुसमा विस्तारित कर्जा सुविधाको सम्झौता गरेको थियो ।नेपाल सरकारको प्रतिवद्धतापछि कोषले २०७८ पुसमा नेपाल सरकारलाई ७ किस्तामा ३८ महिनाभित्र विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।
