ओलीले सी चिनफिङसँग भने ‘लिपुलेक नेपालकै हो’

काठमाडौं । लिपुलेकहुँदै व्यापारिक मार्ग बनाउने भारतसँगको सहमतिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आपत्ति जनाएका छन् । परराष्ट्र सचिव अमृत राईका अनुसार शनिबार दिउँसो सिसँग भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक सहमतिबारे आपत्ति जनाएका हुन् ।
नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति रहेको कुरा प्रधानमन्त्री ओलीले सिसँग स्पष्ट रूपमा राखेको सचिव राईले बताए । ‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ, यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने ।
भेटवार्ताका क्रममा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुरा भएको छ । त्यस्तै दुई देशबीचको सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने विषयमा पनि छलफल भएको छ ।
प्रधानमन्त्री ओली आजै शनिबार चीनको औपचारिक भ्रमणमा गएका हुन् । एससीओ शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री ओलीले २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवको स्मृति कार्यक्रममा सहभागिता जनाउने कार्यतालिका छ । त्यसअघि उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।
