विकासशील बन्दा गार्मेन्ट निर्यात २० प्रतिशत सम्म प्रभावित हुने
काठमाडौं । नेपाल अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा नेपालको गार्मेन्ट र टेक्सटाइल लगायतको निर्यातमा नकारात्मक असर पर्ने देखिएको छ ।
विश्वव्यापार सङ्गठन (डब्ल्युटिओ) का अनुसार अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति भए गार्मेन्ट, टेक्सटाइलको निर्यातमा २० प्रतिशतसम्म कमी आउन सक्छ । टेक्सटाइल १३.३ प्रतिशतले निर्यात घट्ने अनुमान छ ।
आगामी २४ नोभेम्बर २०२६ मा नेपाल, बङ्गलादेश र लावा विकासशील देशमा स्तरोन्नति हुँदै छन् । स्तरोन्नति भएपछि नेपालले निर्यात व्यापारमा पाउने छुट सुविधा हट्ने भएकाले निर्यात खस्कने भएको हो ।
यस्तै गैर सरकारी संस्था साउतीले गरेको अध्ययन अनुसार गार्मेन्ट र टेक्सटाइल निर्यात ४.३ प्रतिशतले नियात घट्ने देखिएको छ । अब ती वस्तुको निर्यातमा ६.७ भन्सार महसुल बढ्दा गार्मेन्ट क्षेत्र बढी प्रभावित हुने अनुमान छ ।
डब्ल्युटिओका अनुसार हाते शिल्प, पशु उत्पादन, जडीबुटी, फलामे उत्पादन, धातुका सामान, आयातमा आधारित प्रशोधित उत्पादन, सेवा क्षेत्रको निर्यातमा समेत प्रभाव पर्ने छ । कार्पेटको निर्यात आठदेखि १५ प्रतिशतले घट्ने अनुमान छ । कार्पेटको प्रमुख बजार अमेरिका र युरोपेली सङ्घ रहेकामा उच्च भन्सार महसुलका कारण निर्यात घट्ने देखिएको हो ।