‘विकासशीलमा स्तरोन्नति हुनु समृद्धिको कोशेढुंगा’

काठमाडौं ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासशीलमा स्तरोन्नति हुनु नेपालको समृद्धि यात्रामा महत्त्वपूर्ण कोशेढुंगा रहेको बताएका छन्।
यससम्बन्धी काठमाडौंमा बिहीबार सम्पन्न कार्यशाला गोष्ठीमा उनले नेपालको विकासमा यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्यको नयाँ ढोका खोल्ने बताएका हुन्।
‘स्तरोन्नति पश्चात् नेपालको लागि अन्तर्राष्ट्रिय व्यापार, विकास सहायता परिचालन, दिगो विकासका लक्ष्यको कार्यान्वयन, सार्वजनिक तथा निजी क्षेत्रको प्राविधिक दक्षता वृद्धि, विपद् तथा जलवायु परिवर्तन व्यवस्थापन लगायतका आर्थिक तथा प्राविधिक विकासमा थप चुनौती देखा पर्नेछन्।यी चुनौतीको सम्बोधन गर्न तीन वटै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी संघसंस्था तथा विकास साझेदार बीचको सहकार्य निकै महत्वपूर्ण हुन्छ’, उनले भने।
यस क्रममा प्रदेश, स्थानीय तह, निजी तथा गैरसरकारी क्षेत्रले पनि यसको कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले नेपाल सरकारबाट खासगरी राष्ट्रिय योजना आयोग तथा विषयगत मन्त्रालयहरूबाट स्तरोन्नतिपश्चात् पर्ने असरका क्षेत्रहरू पहिचान गरी त्यसलाई व्यवस्थापन गर्नेगरी कार्यक्रम तयार गर्ने र कार्यान्वयनको लागि सहकार्य गर्ने कार्य हुँदै आएको उल्लेख गरे।
सहायता परिचालनलाई प्रभावकारी बनाउन वैदेशिक सहायता परिचालन नीति २०८२ जारी भएको र लगानीको वातावरण सुधार गर्न सरकारले निजी क्षेत्रको सहकार्यमा लगानीसँग सम्बन्धित विभिन्न कानुनी सुधार गर्दै आएको उनको भनाइ छ।
‘यसबाट लगानी आप्रवाह तथ पूर्वाधार निर्माणको क्षेत्रमा थप सहजता हुने विश्वास लिएको छु’, उनले भने।
अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षमता वृद्धि गर्नु आवश्यक रहेको बताउँदै उनले यसको लागि उत्पादन तथा उत्पादकत्व क्षमता वृद्धि, व्यापारको देशगत तथा वस्तुगत विविधीकरण, बौद्धिक सम्पत्ति संरक्षण र प्रवर्द्धन, द्विपक्षीय व्यापार सम्झौता, द्विपक्षीय व्यापार प्रवर्द्धन लगायतका कार्यमा जोड दिनुपर्ने बताए।
