लप्सीफेदी सबस्टेसन आगामी पुसभित्र तयार हुने

काठमाडौं।
काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ ।
सबस्टेसन निर्माण आगामी पुसभित्र (डिसेम्बर २०२५) सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको छ । स्थानीय समस्याको बाबजुद करिब एक वर्षअघि सुरु भएको सबस्टेसन निर्माण हाल पूर्ण रुपमा (फूल फेज)मा भइरहेको छ । करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो ।
मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नु पर्ने माग राख्दै केही स्थानीयबाट सबस्टेसन निर्माणमा लामो समयदेखि अवरोध हुँदै आएको थियो । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरुले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको र प्रारम्भिक वातावरणीय परीक्षण(आईई) तथा पूरक आईईलगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी उपलब्ध विकल्पहरुमध्ये सबैभन्दा उत्तम बोझिनीलाई सबस्टेसन निर्माणस्थल छनोट गरिएको थियो । स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गर्दै सबस्टेसन निर्माण भइरहेको छ ।
खिम्ती–बाह्रबिसे– लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरु रहने भवनलगायतका सिभिल संरचनाहरुको निर्माण करिब ४० प्रतिशत सकिएको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर,जिआईएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरणहरुको आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ । आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन् ।
तामाकोशी –काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेसनका सिभिल संरचनाहरुको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणहरुको आपूर्ति ९८ प्रतिशत भइसकेको छ । सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएपछि सबस्टेसनमा उपकरणहरुको जडान सुरु हुनेछ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरुलाई निर्देशन दिए । ‘स्थानीय समस्याका कारण सबस्टेसन निर्माणमा केही ढिला भयो तर हालसम्मको निर्माण प्रगति सन्तोषजनक नै देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘स्थानीयबाट सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, खेलमैदान गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतकामा राखिएका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायीत्व (सिएसआर)अन्तर्गत सम्बोधन गरिरहेका छौं,गर्दै जानेछौं ।’