रसुवागढीमा खस्यो सुख्खा पहिरो

काठमाडौ ।
साउनमा लेन्देखोलाको बाढीले तर्साएको रसुवाबासीलाई आइतबार विहान सुख्खा पहिरोले झस्काएको छ । गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ । स्थानीयका अनुसार पहिरोका कारण आसपासको क्षेत्र प्रभावित बनेको छ ।
सुख्खा पहिरोका कारण मानवीय क्षति भने खासै नभएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरोले रोजगारीका लागि त्यहाँ पुगेका पर्सा विश्रामपुर–४का १९ वर्षीय विनयदास थारू घाइते भएका छन् । थारूको टाउको, कान र काँधमा चोट लागेको छ । पहिरोेका कारण भन्सार निर्माण कार्य पनि रोकिएको छ ।
तापक्रम र वर्षामा हुने असन्तुलनका कारण सृजना हुने वाष्पिकरणले प्राय सुख्खा पहिरो झर्छ । त्यस्तै हिमाली क्षेत्रमा जमिनभित्रको चिसोपन कमजोर हुँदा ढुंगा माटो छुट्टिने अवस्था आउँदा पनि सुख्खा पहिरो आउने गरेको विज्ञ वताउँछन् । पछिल्लो समय जलवायु परिवर्तनका असर स्वरुप हिमाली क्षेत्रमा यस्ता विपतजन्य घटनाको पुनरावृति बढ्दो छ ।
