क्षतिग्रस्त विपी राजमार्ग अनुगमनमा घिसिङ

काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गको स्थलगत अनुगमनमा पुगेका छन् ।
राजमार्ग तत्काल सुचारु गर्न भइरहेको कामको प्रगति बुझ्न र समस्या भए सहजिकरण गर्ने गरी मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा गएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । अनुगमनमा घिसिङले सडकमर्मतलाई रातीमा समेत जारी राख्न मर्मत गरिने क्षेत्रमा विद्युत् आपूर्तिको प्रबन्ध गर्न लगाएका छन् ।
उनले बाढीपहिरोले क्षतिग्रस्त चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका छन् । बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको छ । संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उनले सडक विभाग र निर्माण व्यवसायीलाई अग्रह गरे ।
गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे—नेपालथोक खण्ड क्षति पुर्याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो । गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ । कही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रिया चलिरहेको छ ।
