कर्णालीले पाउने भयो गुणस्तरीय बिजुली
सुर्खेत ।
कर्णाली प्रदेशको दिगो विद्युतीकरणका लागि अपरिहार्य बनेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन तयार भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्ड निर्माण सम्पन्न भइ अन्तिम परिक्षण गर्न लागिएको छ । उक्त प्रसारण लाइनमा माघ १६ गते परीक्षण प्रशारण गरिँदैछ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट विद्युत् प्रवाह गरी परीक्षण गरिने बताए । कोहलपुरदेखि सुब्बाकुना सबस्टेसनसम्मको ५२ किलोमिटर यो प्रसारणलाइनमा १६१ वटा टावर छन् ।
प्राधिकरणको सुर्खेत कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै आवश्यक सतर्कता अपनाउन सर्बसाधारण तथा सरोकारवालालाई आह्वान गरेको छ । सूचनामा प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत् संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन आग्रह गरिएको छ ।
उक्त प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७६ असार २२ गते ठेक्का सम्झौता गरेको थियो । ७० करोड रुपैयाँ लागत रहेको आयोजना बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएको तथा बाँकेकै वैजनाथ गाउँपालिका–१ गाभर, बाँनियाभारका स्थानीयवासीले अवरोध गरेपछि निर्माणको काम ४२ महिना रोकिएको थियो ।
सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको थियो । अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णाली प्रदेशका जिल्लाहरूमा प्रवाह हुने गरेको छ ।। सोही कारण स्थानीयले विद्युत् आपूर्तिमा अनियमितता तथा लो भोल्टेजको समस्या भोग्नु परेको छ । १३२ केभीको प्रसारण लाइन सञ्चालनमा आएपछि उक्त समस्या समाधान हुने अपेक्षा गरिएको छ ।