एभरेष्ट बैंकको सीईओमा पुन: सुदेश खालिङ
काठमाडौं ।
एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ पुन: नियुक्त भएका छन् । भदौ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई पुन: सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको पहिलाे चार वर्षे कार्यकाल असोज ७ गते सकिँदै छ । असोज ८ गतेदेखि लागू हुने गरी उनलाई फेरि चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
खालिङसँग बैंकिङ क्षेत्रमा काम गरेको ४० वर्षको अनुभव छ । सन् १९८६ मा स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका खालिङ लक्ष्मी सनराइज बैंक (साबिक लक्ष्मी बैंक)मा सीईओ हुँदै विसं २०७८ मा एभरेष्ट बैंकको सीईओ बने र नयाँ इतिहास रचे । पन्जाब नेशनल बैंकको साझेदारीमा सन् १९९४ मा खुलेको एभरेष्ट बैंक २७ वर्षसम्म विदेशी सीईओको नेतृत्वमा चल्यो । सुदेश खालिङ नै एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ हुन् ।