बजार झर्यो कर्णालीको मिठो स्याउ

काठमाडौ ।
चीन र भारतको स्याउलाइ बजारबाट विस्थापित गर्ने गरी कर्णालीको स्याउ बजारमा आउन थालेको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादित अर्गानिक स्याउ स्थानीय बजारमा आउन थालेपछि मूल्य पनि कम भएको छ भने विदेशी स्याउ बजारबाट हराउन थालेको हो ।
कर्णालीको मूख्य व्यापारिक नाका जस्तै रहेको बाँकेको नेपालगन्ज र कोहलपुर बजारमा अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । सुर्खेत धनगडी बुटवल हुँदै अहिले राजधानी काठमाडौमा पनि कर्णालीको स्याउ आउन थालको हो ।
भारतीय स्याउ प्रतिकिलो २५० रुपैया बजार मूल्य रहेकामा अहिले नेपाली स्याउ नेपालगञ्ज लगायतका पश्चिमी बजारमा १५० रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुन थालेको छ । ताजा भएकाले नेपाली स्याउ मिठो र रसिलो पनि छ ।
कर्णालीका जुम्ला र कालीकोटबाट ठुलो परिमाणमा स्याउ कोहलपुरमा ल्याएर बिक्री सुरु गरिएकाले भारत र चीनबाट ल्याइने स्याउको बिक्री बन्द भएको स्याउका कोहलपुरस्थित थोक विक्रेता कृष्ण प्रसाद अधिकारीले बताए ।
बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रबाट दैनिक पाँच टनसम्म कर्णालीको स्याउ बिक्री भइरहेको छ । कोहलपुरस्थित भेरी शीतभण्डार सहकारी संस्थामा ठुलो परिमाणमा स्याउ भण्डार भइरहेको र आउने क्रम अझै जारी रहेको भेरी शीतभण्डारले जनाएको छ ।
