एआई क्षेत्रमा काम गर्ने ऊर्जा मिलेको छः मन्त्री खरेल
काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा र प्रोत्साहन मिलेको बताएका छन् ।
नेपालमा राष्ट्रिय एआई केन्द्र उद्घाटन गरेसँगै दक्षिण कोरिया पुगेर सञ्चारमन्त्री खरेलले सिओल एआई फाउण्डसनले सञ्चालन गरेको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकन भ्रमण गरेपछि कोरियाको सूचना प्रविधिका साथै एआई प्रविधि नेपालका लागि उपयोगी र सान्दर्भिक हुने उल्लेख गरे । उनले अवलोकन भ्रमणले नेपालको एआई क्षेत्रमा काम गर्नका लागि थप ऊर्जा र प्रोत्साहन मिलेको उल्लेख गरे ।
सञ्चारमन्त्री खरेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले त्यहाँको एआई सिटी, एआई सेन्टर र एआईले गरेका कामको अवलोकन गरेको हो । मन्त्री खरेलले कोरियाको एआई स्मार्ट सिटी सेन्टरको भ्रमणले आफूलाई नेपालमा एआई केन्द्रमा काम गर्नका लागि थप ज्ञान र सिकाई मिलेको बताएका थिए । यसबाट नेपालमा भर्खरै स्थापना भएको एआई केन्द्रलाई थप टेवा पुग्ने उनको अपेक्षा छ ।
मन्त्री खरेलले एआई स्मार्ट सिटी सेन्टरको अवलोकनका साथै त्यहाँका पदाधिकारी र विज्ञहरुसँग एआई प्रविधिको अवसर, सम्भावना, एआइको उपयोगिता र भविष्यबारे परामर्शसमेत गरेका थिए । दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए । कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो । खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका छन् । प्रतिनिधि मण्डल शनिबार नेपाल फर्कने कार्यक्रम छ ।