बैंकहरूले घटाए असोजको ब्याजदर

काठमाडौं ।
वाणिज्य बैंकहरूले असोजका लागि पनि ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.११३५ प्रतिशत विन्दुले घटेको हो ।
भदौका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोजका लागि ५.४६३५ प्रतिशतमा कायम भएको छ । भदौको तुलनामा असोजमा ९ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर नै ६ प्रतिशतमा झरेको छ ।
असोजका लागि एभरेस्ट, नेपाल, कुमारी, सिद्धार्थ, सानिमा, प्राइम, नेपाल एसबीआई, सिटिजन्स बैंक र कृषि विकास बैंकले ब्याज घटाएका छन् । त्यस्तै एनएमबी, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, एनआईसी एसिया, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्यजदर स्थिर राखेका छन् । लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने बढाएका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचतको पनि ब्याजदर घट्छ । निक्षेपको ब्याजदर घट्दा लागत घट्ने भएकाले कर्जाको ब्याज पनि स्वतः घट्छ । हाल नीतिगत दर ४.५ प्रतिशत छ भने स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।
