नेपालको उर्जामा ८२ खर्ब लगानी आवश्यकः जाइका

काठमाडौः
मुलुकको आन्तरिक आवश्यकता तथा ऊर्जा क्षेत्रबाट उचित लाभ सुरक्षित गर्ने हो भने नेपालमा सन् २०४० सम्मका लागि मात्रै करिव ८२ खर्ब रुपैयाँ यो क्षेत्रमा लगानी गर्नु पर्ने देखिएको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका)ले तयार पारेको एकिकृत ऊर्जा प्रणाली विकास योजनामा यस्तो औल्याइएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयलाई बुझाइएको यो योजनामा ऊर्जा समिश्रण, ऊर्जा सुरक्षा, प्रशारणलाईन विस्तारदेखि नीतिगत कानुनी सुधार लगायतका विषयबस्तुमा स्पस्ट मार्ग निर्देश गर्न खोजेको छ ।
विद्युत् विधेयक तत्काल आउनु पर्ने ड्याम सेप्टी गाइडलाइन अत्यावश्यक रहेको पनि यसले सुझाएको छ । ऊर्जा विकासमा अन्तरनिकाय समन्वयमा रहेका समस्या समाधान गर्न सयन्त्र निर्माणमा पनि यसले जोड दिएको छ । सन् २०४० सम्मका लागि ऊर्जाको आवश्कता देखि सो क्षेत्रको सन्तुलित विकास गर्ने र ऊर्जा सुरक्षालाई अझै फराकिलो बनाउने गरी त्यसबेलासम्म ३६ हजार ३२६.९ मेगावाट विद्युत् उत्पादन गर्ने सकिने उल्लेख छ ।
सन् २०४० सम्ममा नेपालमा हुने विद्युत् खपत तथा मागको अवस्था, सौर्य तथा जलविद्युत् आयोजना विकास र विद्युत् व्यापारका आयामलाई मुख्य रुपमा विश्लेषण गर्दै यो योजना तयार पारिएको जाइकाले जनाएको छ । एकिकृत योजनाले हाल रहेको प्रति व्यक्ति ऊर्जा खपत ५ गुणाभन्दा धेरै बृद्धि हुँदै वार्षिक १७ सय ७९ युनिट पुग्ने आँकलन गरेको छ । जुन समयमा विश्वमा प्रतिव्यक्ति औषत ऊर्जा खपत ३ हजार २६५ पुगेको हुनेछ ।
डेढ दशकका लागि तयार पारिएको सो योजनाले ऊर्जाको एकिकृत विकासलाई तीन आवधिक चरणमा कार्यान्यवन गर्नुपर्ने सुझाएको छ । जसअनुसार सन् २०३५ सम्ममा २८ हजार २ सय १५ मेगावाट विद्युत् उत्पादन हुने छ । योजनाले आँकलन गरे अनुसार ऊर्जा समिश्रणमा सन् २०४० सम्ममा सौर्य ऊर्जाको हिस्सा ११ प्रतिशत(४१० मेगावाट) जलाशय युक्त आयोजनाको हिस्सा २६ प्रतिशत(९ हजार ४२९ मेगावाट) र जलप्रवाही आयोजनाको हिस्सा ३३ प्रतिशत(११ हजार ८३२ मेगावाट) अर्धजलाशयको ३० प्रतिशत(१० हजार ९३०मेगावाट) रहने छ ।
आयोजना विकास तर्पm हाल निर्माणाधीन तथा लाइसेन्स लिएका तथा अन्य गरी २७ जलविद्यत् आयोजनालाई विशेष प्राथमिकता प्राप्त भनिएको छ ।
जाइकाले तयार पारेर सरकारलाई बुझाएको सो योजना अनुसार विद्युत् आपूर्ति सञ्जाल व्यवस्थित र भरपर्दो बनाउने गरी सन् २०४० सम्म २३ हजार ८ सय १७ किलोमिटर प्रशारणलाइन पनि तयार भएको हुनु पर्नेछ ।
योजनाले दुधकोशी, बुढी गण्डकी, नलगाड नौमुरे जलदुल्लाजस्ता आयोजना निर्माणलाई उच्च प्राथमिकतामा राख्न भनेको छ । त्यस्तै इनरुवा पूर्णिया दोधारा चाँदनीजस्ता अन्तरदेशीय विद्युत प्रशारणलाईन निर्माण पनि यसका लागि अत्यावस्यक पूर्वाधार मानिएको छ । योजनाले भारतमा १० हजार मेगावाट निर्यात गर्ने र बाँकी ५ हजार चीन तथा बँगलादेशमा निर्यात गर्ने रणनीति बनाएको छ ।