१४.५ प्रतिशतले बढ्यो बीमा प्रिमियम

काठमाडौं । बिमा क्षेत्रका परिसूचकहरू बढेका छन् । कुल बिमालेख संख्या, बिमाशुल्क संकलन र बिमाको दायरासमेत वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।
गत जेठसम्म जारी भएको बिमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७ प्रतिशत बढेको छ । गत जेठसम्म बिमालेख संख्या बढेर एक करोड ८४ लाख २५ हजार २३० पुगेको छ ।
यस अवधिमा वैदेशिक बिमालेख, म्यादी र लघु म्यादी बिमालेख तथा निर्जीवन बिमालेखसमेत उल्लेख्य वृद्धि भएको छ । यसबीचमा जीवन बिमालेख संख्यामा कमी आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल बिमालेख संख्या एक करोड ६८ लाख २ हजार २४८ थियो ।
यसैगरी, बिमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशत बढेर एक खर्ब ९५ अर्ब चार करोड १६ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त रकम एक खर्ब ७० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ थियो ।
यस अवधिसम्म जारी भएको म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बिमालेखसहित बिमाको दायरामा आएको संख्या ४७.९५ प्रतिशत पुगेको अर्थले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त संख्या ४३.९५ प्रतिशत थियो ।
कुल बिमालेखमध्ये जीवन बिमाको ८४.१ र निर्जीवन बिमाको हिस्सा १५.९ प्रतिशत छ । अघिल्लो वर्षको जेठसम्म यस्तो हिस्सा क्रमश : ८३.९ र १६.१ प्रतिशत थियो ।
यस अवधिको कुल बिमा प्रिमियम रकममा जीवन बिमा र निर्जिवन बिमातर्फको हिस्सा क्रमश : ७९.६ र २०.४ प्रतिशत छ ।
