आन्दोलनको क्षतिको डेढ अर्ब बीमा दाबी भुक्तानी

काठमाडौ ।
जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको डेढ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी भएको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म परेको दाबीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ भुक्तानी भइसकेको हो । प्राधिकरणका अनुसार अहिलेसम्म दर्ता भएका तीन हजार ९९ वटा दाबीबापत २४ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको दाबी माग आएको छ । भुक्तानीपछि १४ वटा निर्जीवन बिमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीले २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
सम्पत्ति बिमा दाबीको मूल्याङ्कन एवं अनुगमनका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरबाट हालसम्ममा ५२ वटा सर्भे प्रतिवेदन प्राप्त भएको निर्जीवन बिमकहरूले जानकारी दिएको प्राधिकरणले जनाएको छ ।
बिमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बिमाबापतको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यस्तै सङ्ख्याको आधारमा धेरै मोटर बिमाबापतको भुक्तानी भएको छ । सम्पत्ति बिमामा ६५३ वटा दाबी परेकोमा हालसम्म एक अर्ब ३२ करोड ७२ लाख रुपियाँ भुक्तानी भइसकेको छ । सम्पत्ति बिमा अन्तर्गत १९ अर्ब छ करोड ७६ लाख रुपैयाँ दाबी परेको थियो ।
मोटर बिमामा दुई हजार २०६ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब २४ करोड ९१ लाख दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । मोटर बिमा अन्तर्गत करिब तीन अर्ब ४१ करोड छ लाख रुपैयाँ दाबी परेको थियो ।
