कोरलानाकाबाट विद्युतीय सवारीसाधन आयात सुरु

काठमाडौं: चीनसँग जोडिएको लोमान्थाङस्थित कोरलानाकाबाट पहिलो पटक ठूलो परिमाणमा विद्युतीय सवारीसाधन आयात सुरु भएको छ । भन्सार विभागको प्रक्रिया पूरा गरी भित्रिएका एक सय भन्दा बढी विद्युतीय सवारी हाल न्हेचुङ भन्सार कार्यालयमा राखिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट करिब ५०० भन्दा बढी बीवाइडी कम्पनीका सवारी ल्याइने तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले आठ दिनअघि मात्रै खोलिएको यस नाकाबाट हालसम्म एक सय भन्दा बढी सवारी भित्रिएको जानकारी दिए ।
यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने योजना थियो । तर, बाढी–पहिरोका कारण ती नाका अवरुद्ध भएपछि कोरलालाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको हो । “चिनियाँ भन्सारमा जाँचपास भएपनि नेपाली भन्सार प्रक्रियाबाट पनि ती सवारी पार हुन्छन्,” प्रजिअ भुसालले बताए ।
यस नाकाबाट विद्युतीय गाडी मात्र नभई चाडपर्व लक्षित लत्ता कपडा, विद्युतीय सामग्री र कस्मेटिक सामान समेत आयातको तयारी गरिएको छ । हालसम्म केही मझौला मालवाहक कन्टेनर पनि चीनतर्फबाट न्हेचुङ पुगेका छन् ।
