Back To Top

April 13, 2025

‘प्रदूषणका कारण पर्यटकको भ्रमण अवधि घट्यो’

Global Ime Bank

काठमाडौं ।

वायु प्रदूषणका कारण पर्यटन क्षेत्र प्रभावित बन्दै गएको सरोकारवालाले बताएका छन् । उच्च वायु प्रदूषण हुँदा नेपाल आउने पर्यटकले भ्रमण तालिका छोट्याउने तथा रद्द गर्ने क्रम बढेको उनीहरूको गुनासो छ ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र नेपाल पर्यटन बोर्डले शनिबार (३० चैतमा) आयोजना गरेको ‘पर्यटन क्षेत्रमा वायु प्रदूूषणको असर’ विषयक अन्र्तक्रियाका वक्ताहरूले विश्वकै उच्च प्रदूषित सहरहरूमा काठमाडौं सूचीकृत हुँदा पर्यटन उद्योग प्रभावित बनेको बताए ।

प्रदूषण कारण हवाई उडान नियमित नहुने, विभिन्न स्वास्थ्य समस्याहरू देखापर्ने, नेपाल आइपुगेका पर्यटकहरू पनि हिमश्रृंखलाको दृश्यावलोकन गर्न नपाउँदा निराश बन्ने गरेकाले पर्यटन उद्योगमा नकारात्मक प्रभाव बढ्दै गएको उनीहरूको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, ‘पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ तर प्रदूषणका कारण नेपालको सुन्दर छवि धमिलिने जोखिम बढेको छ ।’ नेपालको कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको तथ्य भए पनि यो क्षेत्र अझै प्राथमिकतामा रहन नसकेको उनले बताए ।

नेपालको पर्यटन क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष/परोक्ष रोजगार दिएको उल्लेख गर्दै जोशीले भने, ‘ पर्यटन क्षेत्रबाट अझै लाभ लिन जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदूषणलगायत पर्यटकीय क्षेत्रलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्छ ।’

वायु प्रदूषणले तत्कालका लागि पर्यटक आवागमन घटाउने, यस्तो समस्या हरेक वर्ष दोहोरिँदा पर्यटन क्षेत्रमा दीर्घकालीन असर पुुग्ने उनको ठहर छ । कार्यक्रमका अन्य वक्ताहरूले वातावरण जति स्वच्छ र स्वस्थ बन्छ त्यति नै पर्यटकीय क्षेत्र दिगो र विश्वासिलो बन्ने धारणा राखे ।

नेपाल पर्वतारोहण संघ (एनएमए)का वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले भने, ‘नेपालको मौसम सूचना प्रणाली प्रभावकारी र चुस्त बन्दा त्यसको लाभ पर्यटन क्षेत्रले पनि लिएको छ तर प्रदूषणले यो क्षेत्र (पर्यटन क्षेत्र) प्रभावित बनिरहेको छ ।’ प्रत्येक पालिकाले प्रभावकारी कदम नचालेसम्म वन डढेलो नियन्त्रण र प्रदूषण रोकथाम निष्प्रभावी बन्ने उनको तर्क थियो ।

विज्ञहरूका अनुसार सुख्खा याममा ९० प्रतिशत भन्दा बढी वायुु मानव स्वास्थ्य अनुुकूल हुँदैन । नेपालमा वार्षिक ४७ हजार हाराहारी व्यक्तिको अस्वस्थकर वायुुकै कारण निधन हुने गरेको छ । विगत २ सातायता काठमाडौंसहित देशका धेरै भेगमा वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मानव स्वास्थ्यका दृष्टिले जोखिम तहमा पुगेपछि अस्पतालमा बिरामीको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ ।

वायु गुणस्तरविज्ञ डा. भूूपेन्द्र दासका अनुसार नेपालमा अन्तरदेशीय वायु, कृषि, उद्योग/कलकारखाना, खुला क्षेत्रमा बालिने फोहोरमैला, वन डढेलो, पुराना सवारी साधन प्रदूषणका मुख्य कारण हुन् ।

‘नेपालमा ९० प्रतिशत भन्दा बढी प्रदूषण तराई, साढे ६ प्रतिशत मध्य पहाड र ३ प्रतिशत हाराहारी प्रदूषण हिमाली क्षेत्रबाट हुने अध्ययनले देखाएको छ’, उनले भने, ‘प्रदूषण बढ्नुमा मानवीय गतिविधि नै मुख्य कारण हो ।’ केही वर्षयता वन डढेलो मुख्य कारण बन्दै गएको दासले बताए ।

Prev Post

गभर्नर बन्न विभिन्न प्रतिस्पर्धी, अर्थमन्त्री भन्छन ‘अनुभवी ल्याउँछौ’

Next Post

विद्युत आयोजनाको आईपीओ बिजुली बलेपछि मात्रै

post-bars

Leave a Comment