अधिक नियमनले विश्वास खस्कन सक्छः ढकाल
काठमाडौ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसंग शनिबार भएको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरे ।
मुद्रा कोषले नेपालको आर्थिक, वित्तीय तथा अन्य सरोकारका नीति निर्माणमा नेपाल सरकारका विभिन्न निकायलाई आर्थिक तथा प्राविधिक सहायतासमेत उपलब्ध गराउँदै आएको छ ।
महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको उल्लेख गर्दै अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने खतरा औल्याए । निजी क्षेत्रले प्रवर्दनात्मक वातावरण खोज्ने र सोही अनुसारका नीतिहरु बन्नुपर्ने उनकोे भनाइ थियो ।
नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ, उनले भने, सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाई हुन्छ ।
ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको पनि जानकारी गराए । ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गरे ।
ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संसोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराए । उच्च विदेशी विनिमय संचिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालमा लगानी प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।
भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताइन । निजी क्षेत्रलाई महत्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेको पनि उनको भनाइ थियो ।