बाटोको दुःख अब केही वर्ष बुटवल पश्चिम तिर
बुटवलः
नारायण गढ बुटवलको निमाणाधीन अवस्थामा रहँदा दुख पाएका पश्चिम नेपालतर्फ यात्रा गर्ने यात्रुलाई अव बुटवल–गोरुसिङ्गे सडकको पनि सकस थपिने भएको छ । सो सडक विस्तारका लागि वन विभागले करिव ७ हजार रुख कटानको अनुमति दिइसँगै अव ५० किलोमिटर लामो यो सडक विस्तारको काम हुने भएको हो ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका अनुसार रुखकटानको अनुमति पाएसँगै सडक नापजाँच, सर्भे गर्ने, विद्युत् पोल सार्ने र सडक किनारका संरचना खाली गराउने काम भइरहेको छ । दशैपछि भौतिक काम सुरु गर्ने भनिएकामा अहिले अब काम सुरु हुने भएको हो ।
बुटवल नारायणगढ सडक चिनियाँ ठेकेदारकै कारण विस्तरमा ढिलाई भएर जनताले सास्ती खेप्नु परिरहेको बेला बुटवल पश्चिमतिरको गोरुसिँगेसम्मको खण्डपनि चिनिया ठेकेदारले विस्तारको ठेक्का पाएको छ । यद्धपी सडक विस्तार आयोजनाका अधिकारीहरु भने यसमा ढिला सुस्ती नहुने दाबी गर्दैछन् ।
मर्मत तथा विस्तारलाई आधा आधा खण्डमा दुई चरणमा काम गर्ने निर्माण कम्पनीले जनाएको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा ठेक्का प्राप्त गरेका छन् ।
अहिले विद्युत्का पोल सार्ने प्रक्रिया सुरु भइसकेको छ भने अहिले सडकमै खटिएर नापजाँच र सर्भे गर्ने काम भइरहेको छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कल्भर्ट र छ वटा अन्डरपास ओभरपास निर्माण हुने छ । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडा सडक बन्ने छ । ठेक्का अवधि तीन वर्ष निर्धारण गरिएको छ ।
गोरुसिँगे देखि पश्चिम चुरे पहाड हुँदै लमहीसम्मको सडक खण्ड विस्तारका मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीए नेपालले ठेक्का तयारीका काम हरु गरिरहेको जनाएको छ । दुवै खण्डको निर्माण अवधि एकैपटक पर्ने भएकाले निर्माणाधीन अवस्थामा बुटवल देखि लमहीसम्मको यात्रा केहि वर्षका लागि सकसपूर्ण वन्ने छ भने बनिसेका अवस्थामा नारायणगढदेखि नै आधुनिक सडकमा सवारी साधन गुड्न पाउनेछन् ।