दसैंदेखि देशभर भीषण वर्षाको सम्भावना

काठमाडौं ।
मौसमविद्ले दसैं सकिएलगत्तै देशभर ‘भारी’ वर्षा हुने सम्भावना औँल्याएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलल गत वर्ष असोजको जस्तै ‘भीषण’ पानी पर्ने सम्भावना धेरै रहेकोे उल्लेख गरेका छन् ।
“फोरकास्ट (पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ,” उनले मंगलबार (असोज १४) बिहान फेसबुकमा लेखेका छन, “तर, पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ ।” जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि दसैँ टीकाको भोलिपल्ट (असोज १७)देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास हुँदै गरेको जनाएका छन् ।
पोखरेलले देशमा यही अक्टोबर ३ देखि ७ (असोज १७–२१)सम्म भारी वर्षा हुन सक्ने जनाएका छन् । हाल तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको उनले स्पष्ट पारेका छन् । उनले यसअघि पनि यस्तो सम्भावना औँल्याएका थिए । भोलि (असोज १५)देखि वर्षा हल्का र मध्यम हुँदै बिहीबार (असोज १६) रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने उनको अनुमान छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिन्छ ।
