सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन
काठमाडौँ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेसम्म मुलुकको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई साथ नलिएसम्म आर्थिक सुधार सम्भव नभएको धारणा व्यक्त गरे । “जबसम्म निजी क्षेत्र सँगै लिएर जान सकिँदैन, तबसम्म नेपालको अर्थतन्त्र अगाडि लैजान सकिँदैन । यो प्रमाणित भइसकेको छ,” उनले भने, ।
निजी क्षेत्रप्रति गरिँदै आएको दृष्टिकोण परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै उनले अर्थतन्त्रका मुख्य एजेन्डामा नेपाल पछाडि परेको बताए । यसमा अब गम्भीर ध्यान दिनुपर्ने उनको जोड थियो ।
अध्यक्ष ढकालले कलेक्टिभ एप्रोच नअपनाइए वास्तविक परिणाम हासिल गर्न नसकिने स्पष्ट पारे । “नेपालमा केही गर्न सकिँदैन भन्ने नकारात्मक सन्देशलाई चिर्ने काम महासंघले गरिरहेको छ । आन्तरिक पुँजी परिचालन गरेर धेरै गर्न सकिन्छ भन्ने सन्देश हामीले दिइरहेका छौँ,” उनले भने।
जेन्जी आन्दोलनले उठाएका सुशासनका मागजस्तै माग निजी क्षेत्रले पनि गर्दै आएको भन्दै हाल केही विषयमा सकारात्मक परिवर्तन भइसकेको र केही प्रक्रियामा रहेकोले निजी क्षेत्र उत्साहित रहेको उनको भनाइ थियो ।
यस्तै, सिइओ केन्द्रित निर्णय प्रणालीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ढकालले भने,“सिइओले चाह्यो भने अध्यक्षलाई मनाएरै निर्णय पारित गराउँछ, तर चाहेन भने कुनै पनि विषय अघि बढ्दैन । यस्तो प्रवृत्ति सबैतिर देखिन्छ, जुन गलत हो ।”
अध्यक्ष ढकालले एफएनसिसिआईले नेपालमा लगानी प्रवद्र्धनका लागि देश तथा विदेशमा विविध कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको जानकारी पनि दिए ।