भन्सार महसुल घटाए पनि सुन आयातमा कमी

काठमाडौँ।
भन्सार महसुल घटाए पनि सुनको आयातमा भने कमी आएको छ । गत मङ्सिरदेखि सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को आठ महिनामा १४ अर्ब ३७ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको एक हजार १८८ केजी सुन आयात भएको छ । गत वर्ष सो अवधिमा १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको एक हजार ९०१ केजी सुन आयात भएको थियो । यस वर्ष सुनको आयात परिमाणमा कमी आएको हो ।
सुनको आयात घट्दा सुनबाट प्राप्त हुने राजस्वमा समेत उल्लेख्य कमी आएको छ । चालु आवको आठ महिनामा सुन आयातबाट एक अर्ब ५८ करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
गत वर्ष सो अवधिमा दुई अर्ब ४१ करोड ८४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य बढेका कारण आयातमा कमी भएको छ ।विभिन्न वाणिज्य बैङ्कले दैनिक २० किलोका दरले सुन आयात गर्ने गरेका छन् ।
पछिल्लो एक महिनाको अवधिमा स्थानीय बजारमा सुनको मूल्य तोलामा आठ हजार रुपियाँले बढेको छ । गत फागुन दोस्रो साता प्रतितोला एक लाख ६८ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य अहिले बढेर एक लाख ७६ हजार दुई सय रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको छ । सुनको मूल्य निरन्तर बढ्दै गएपछि कारोबारसमेत गिरावट आएको व्यवसायीको भनाइ छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको सात महिनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४३.४८ प्रतिशतले बढेको छ । २०८० माघ मसान्तमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस दुई हजार १५ अमेरिकी डलर रहेको सुनको मूल्य चालु आवको माघसम्म बढेर प्रतिऔँस दुई हजार ८९१ अमेरिकी डलर पुगेको छ ।