Back To Top

October 28, 2025

नेपालको नविकरणीय ऊर्जामा लगानी गरी हरित भविश्य सुनिश्चित गर्न आग्रह

Global Ime Bank AD

नयाँ दिल्ली ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् र सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभालाई मंगलबार विशेष वक्ताको रूपमा सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गरेको र यही अवसरमा लगानीकर्ताहरूले नेपालको ऊर्जा क्षेत्रमा सहभागिता जनाएर हरित भविश्य निर्माण गर्न आह्वान गरेका हुन् ।

“जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अवस्थामा अन्तरदेशीय प्रसारण लाइनका माध्यमबाट हामी दिगो रूपमा क्षेत्रलाई ऊर्जायुक्त बनाउन सक्छौं,” उनले भने, “ म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु , नेपालमा लगानी गर्नुहोस नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस ।”

‘बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना’ शीर्षकको सत्रमा सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको जलविद्युत् दक्षिण एशियाकै स्वच्छ ऊर्जा रुपान्तरणका लागि रणनीतिक स्रोत रहेको बताए ।

मन्त्री घिसिङले नेपालले २०३५ सम्ममा १५ हजार मेगावाट नवीकरणीय ऊर्जा निर्यात गर्ने लक्ष्य लिएको जानकारी दिए । “नेपाल र भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण लाइन निर्माणको काम अघि बढाइरहेका छौ,” उनले भने, “झन्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र ४२ हजार मेगावाट पम्प स्टोरेज सम्भावनाले सम्पन्न नेपालका ऊर्जास्रोतहरू छिमेकी देशहरूको सौर्य र वायु ऊर्जासँग परिपूरक छन् ।”

क्षेत्रीय र विश्वव्यापी ग्रिड विस्तार हुँदै जाँदा नविकरणीय ऊर्जाको प्रवाह सहज र दिगो रूपमा सम्भव हुने बताउँदै उनले भने, “यो दृष्टि ‘एक सूर्य, एक विश्व, एक ग्रिड’ अवधारणासँग मेल खान्छ, जहाँ स्वच्छ ऊर्जा सीमाना नाघेर प्रवाहित हुन्छ ।”

उनले सहज, भेदभावरहित र अप्रतिबन्धित हरित ऊर्जाको प्रवाह सुनिश्चित गर्न पारदर्शी नियमन, मापदण्डको एकरूपता र प्रसारण पूर्वाधारमा खुला पहुँच विस्तारका माध्यमबाट निजी लगानी आकर्षित गर्न सकिने बताए ।

सीमापार ऊर्जा सहकार्य नेपालको स्वच्छ ऊर्जाभिजनको मुटुमा रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत् प्रणालीलाई प्रभावकारी क्षेत्रीय एकीकरणतर्फ लैजान बिम्स्टेक मुलुकहरूबीचको पूर्ण आवद्ध ग्रिडको आवश्यकता औंल्याए ।

जलवायु परिवर्तनका कारण विद्युत् प्रणाली र जीविकोपार्जनमा परिरहेको क्षतिलाई सम्बोधन गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्नेमा उनले जोड दिए । “नेपालको कार्बन उत्सर्जन नगन्य भए पनि बारम्बार बाढी र खडेरीका घटनाले विद्युत् पूर्वाधारमा ठूलो क्षति पु¥याइरहेका छन्, त्यसैले जलवायुप्रतिरोधी पूर्वाधार विकास हाम्रो राष्ट्रिय प्राथमिकता हो।”

सीमापार ऊर्जा सहकार्य नेपालको स्वच्छ ऊर्जा भिजनको मुटुमा रहेको उल्लेख गर्दै घिसिङले विद्युतको प्रभावकारी क्षेत्रीय एकीकरण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) मा आवद्ध मुलुकहरुबीचको पूर्ण आवद्ध ग्रिडको जग बसाल्न नेपाल–भारत मात्र होइन, भारत–बङ्गलादेशबीचको प्रसारण पूर्वाधार पनि सुदृढ गर्न अत्यावश्यक रहेकोमा जोड दिए ।

उनले जलवायु परिवर्तनका कारण विद्युत प्रणाली र जीविकोपार्जनमा परिरहेको गम्भीर क्षतिलाई सम्बोधन र न्यूनीकरण गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई अझै सुदृढ बनाउन आह्वान पनि गरे ।

Global Ime Bank
Prev Post

बाघ गणना पुसदेखि, चैतमा गैँडा

post-bars

Leave a Comment