ग्लोबल आइएमइले १४.११ प्रतिशत लाभांश बाँड्न सक्ने

काठमाडौ ।
ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८१÷८२ मा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा १.०९ प्रतिशतले बढाएको हो ।
आव २०८०/८१ मा ६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकले प्रोभिजन बढाउनु पर्ने हुँदा आम्दानी बढेपनि बैंकको नाफा झिनो सुधार देखिएको हो । गत आवमा ग्लोबल आइएमइ बैंकले ४ अर्ब ३० करोड ५४ लाख रुपैयाँ नोक्सानी व्यवस्था अर्थात् प्रोभिजनिङ गरेको छ । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी र व्यवसायजन्य आम्दानी उल्लेख्य बढाउन सकेको भए पनि खुद ब्याज आम्दानी घटेको छ । गत वर्ष भन्दा यो वर्ष ब्याजदर निरन्तर ओरालो लागिरहेको अवस्थाका कारण व्याज आम्दानी खस्किएको देखिएको छ ।
बैंकले आव २०८१/८२ मा १६ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब २२ करोड २० लाख रुपैयाँ रहेको छ । जबकि अघिल्लो आर्थिक वर्ष खुद ब्याज आम्दानी १६ अर्ब ८५ करोड ६३ लाख रहेको बैंकको खुद ब्याज आम्दानी करिब 0.८५ प्रतिशतले घटेको हो । बैंकले अघिल्लो आवमा खुद फि तथा कमिसन आम्दानी र नोक्सानी व्यवस्था क्रमशः २ अर्ब ६८ करोड २३ लाख र ३ अर्ब ६१ करोड ६६ लाख थियो ।
बैंकले यसपटक नियामकीय जगेडाबाट १ अर्ब १२ करोड रुपैयाँ सञ्चित नाफामा सारेको छ । यसरी बैंकले गरेको आम्दानी ७ अर्ब १२ करोड ७६ लाखरुपैयाँमध्ये ५ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ लाभांशका रुपमा बाँड्न सक्ने देखिन्छ । यसबाट चुक्तापुँजी ३८ अर्ब ११ करोड ५९ लाख रहेको बैंकले १४.११ प्रतिशत लाभांश बाँड्न पाउँछ ।
नाफा बढ्दा पनि बैंकले गत आवमा बोनस सेयर मार्फत पुँजी बढाउँदा प्रतिसेयर आम्दानी घटेको छ । २०८१ असार मसान्तसम्म १६ रुपैयाँ ९९ पैसा रहेको प्रतिशेयर आम्दानी(इपीएस) गत आवको अन्त्यमा आइपुग्दा १६ रुपैयाँ २८ पैसा कायम भएको छ ।
बैंकले ५ खर्ब ५० अर्ब ६३ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ वर्षको अवधिमा बैंकले निक्षेप ६३ अर्बले बढाउँदा कर्जा ४२ अर्बले विस्तार गरेको छ ।
