Back To Top

September 12, 2025

मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने महासंघको अपेक्षा

Global Ime Bank AD

काठमाडौं । देशभर भइरहेको आन्दोलन र प्रदर्शनका क्रममा उद्योग–व्यवसाय, प्रतिष्ठान तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र अर्बौं रुपैयाँ बराबरको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ ।

बुधबार महासंघको कार्यकारिणी समिति र पूर्व अध्यक्षहरूसँगको बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जनधनको क्षतिप्रति महासंघले दुःख व्यक्त गरेको छ ।

महासंघले शुसासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोग जस्ता विषयप्रति युवा पुस्ताले देखाएको चासो प्रति सम्मान व्यक्त गर्दै विकसित घटनाक्रम विवेकपूर्ण अवतरण भई मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने अपेक्षा गरेको छ ।

महासंघका अनुसार पछिल्लो आन्दोलनका कारण धेरै उद्योगी व्यवसायीका कार्यालय, प्रतिष्ठान र निवासमा आक्रमण तथा आगजनी भएका छन् । व्यक्तिगत तथा व्यावसायिक सम्पत्तिमाथि आक्रमणको भर्त्सना गर्दै महासंघले आगामी दिनमा यस्तो घटना नदोहोरिने सुनिश्चितताका लागि सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ । महासंघले अर्बौं रुपैयाँ बराबरको क्षतिले राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पार्ने प्रारम्भिक अनुमान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा सञ्चालन हुन नसके अर्थतन्त्रमा थप समस्या हुन्छ र राजस्वमा नकारात्मक प्रभाव पर्छ । त्यसैले सर्वप्रथम उद्यमी व्यवसायीलाई निर्वाध रुपमा पेशा–व्यवसाय गर्ने वातावरण र आवश्यक सुरक्षा सुनिश्चित गरिदिनुपर्छ ।’

महासंघले निषेधाज्ञा वा कर्फ्युसमेतको अवस्थामा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको ओसार–पसार सहज बनाउन माग गरेको छ । साथै यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघका प्रतिनिधिलाई सहभागी गराउन पनि आग्रह गरिएको छ ।

त्यसैगरी, देशभरका उद्यमी व्यवसायीलाई गुणस्तरीय वस्तुको नियमित आपूर्ति गरेर बजारमा अभाव सिर्जना हुन नदिने आग्रह गरिएको छ । यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर तथा वस्तुगत संघहरुले अनुगमन गर्ने व्यवस्था मिलाउन पनि महासंघले जोड दिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भए पनि धेरै भन्सार नाका बन्द रहेको भन्दै महासंघले आवश्यक वस्तु आयात–निर्यात सहज बनाउन भन्सार नाका तत्काल सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

निजी क्षेत्रले नेपालमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ । त्यसैले निजी क्षेत्रको सुरक्षासहितको वातावरणले मात्र अर्थतन्त्रलाई चलायमान बनाएर स्थायित्व कायम गर्न सकिने निष्कर्ष महासंघले निकालेको छ ।

बैठकले युवाहरूको चाहना अनुरूप शुसासन, स्वतन्त्रता, मर्यादित रोजगारी, लगानी प्रबर्द्धन र स्थायी विकासका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै महासंघले समुन्नत समाज निर्माणमा सबै पक्ष सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

Global Ime Bank
Prev Post

कालीगण्डकी करिडोर सडक अवरुद्ध

Next Post

जेनजी आन्दोलनमा ५१ जनाको मृत्यु

post-bars

Leave a Comment