प्रत्यक्ष निर्वाचित अध्यक्षमै फर्कियो महासंघ

काठमाडौं ।
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधिलाई त्याग्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमै फर्किएको छ । विधान संशोधनकै लागि मंगलबार बसेको महासंघको विशेष साधारणसभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने र कार्यकालसमेत २ वर्षको हुने निश्चित गरेको हो ।
नयाँ व्यवस्थाअनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेका अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन । विगतमा प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने गरेकामा ८ वर्षपहिले भवानी राणा अध्यक्ष बन्दा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने गराइएको थियो । त्यसपछि शेखर गोल्छा र वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकाल अध्यक्ष बनेका छन् । नयाँ नियम अनुसार अव बरिष्ठबाट अध्यक्ष बन्नेमा अन्जन श्रेष्ठ अन्तिम हुनेछन् भने तीन वर्षे कार्यकाल पाउने पनि उनी नै अन्तिम हुनेछन् । यसअनुसार अवको ४ वर्षपछि मात्र यो नियम कार्यान्वयन हुने छ ।
संशोधित विधानअनुसार महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ तर कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष चयन हुने गरी विधान संशोधन गरिएको छ ।
महासंघले एकजना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्थालाई निरन्तरता दिएको छ । तर, वरिष्ठ उपाध्यक्ष भने निर्वाचनमार्फत् नभएर चयन कार्यकारिणी समितिले गर्नेछ । मंगलबारको विशेष साधारणसभाले जिल्लारनगर तर्फ २ जना उपाध्यक्ष रहने गरी बिधान संशोधन गरेको महासंघले जनाएको छ ।