५ महिनामा पौने १० अर्ब रुपैयाँको ईभी आयात
काठमाडौं ।
चालु आर्थिक वर्षको २०८२/८३ को ५ महिनामा करिब पौने १० अर्ब रुपैयाँ बराबरको विद्युतीय गाडी (ईभी) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच महिनामा सरकारले इभि गाडी आयात मार्फत पौने ६ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो ।
चालु आर्थिक वर्षको पाँच महिनामा एसेम्बल र अनएसेम्बल ईभी गाडीहरु १२ हजार ४८९ वटा गाडी भित्रिएको हो । मंसिर महिनासम्म ९ अर्ब ८५ करोड ९३ लाख ३६ हजार रुपैयाँ बराबरको ईभी आयात भएको छ । यस अवधिमा सरकारले ५ अर्ब ८७ करोड ८४ लाख १६ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
मंसिर महिनासम्म ५० किलोवाटका १२ सय १ वटा, ५१ देखि १०० किलोवाटका २१ सय ६४ वटा, १०१ देखि २०० किलोवाटसम्मको ४१४ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको ५ वटा ईभी गाडी आएका छन् ।
भन्सारकाे तथ्याङक अनुसार ५१ देखि १०० किलोवाटका ईभी गाडी अहिलेसम्म सबै भन्दा धेरै भित्रिएका छन् । यस्तै, तीन पाङ्ग्रे ईभी पनि उच्च दरमा भित्री रहेको पाइन्छ । मंसिर महिनासम्म मात्रै ३९ करोड ४४ लाख लाख २२ हजार रुपियाँको ३८ सय २२ वटा तीन पाङ्ग्रे ईभी भित्रिएका छन् ।