सवारी साधनमा यूरो-६ प्रदूषण मापदण्ड लागु

काठमाडौं ।
नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागु भएको छ । लामो समयदेखि कार्यान्वयनको बहसमा रहेको यो मापदण्ड सरकारले ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ कार्यान्वयनमा ल्याउँदै लागु गरेको हो ।
वन तथा वातावरण मन्त्रालयले नयाँ मापदण्ड राजपत्रमा प्रकाशित गरेको छ । यस मापदण्डअनुसार अब दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको हकमा यूरो-५ र कम्तीमा चार पाङ्ग्रा भएका सवारी साधनको हकमा यूरो-६ मापदण्ड बमोजिमको परीक्षण मान्य हुनेछ ।
युरो-६ लागु हुने चार पाङ्ग्रेमा भने साना यात्रुबाहक सवारी साधन (चालक बाहेक ८ यात्रु सिट क्षमता भएका), मझौला यात्रुबाहक सवारी साधन (८ सिटभन्दा बढी क्षमता) र ठूला यात्रुबाहक सबै सवारी साधनको हकमा लागु भएको छ ।
उता, न्यूनतम ३.५ टनसम्म तौल भएकादेखि सबै मालबाहक साना, मझौला र ठूला सवारीमा समेत यूरो-६ मापदण्ड लागु भएको मन्त्रालयले जानकारी दिएको छ । सवारी साधन उत्पादन हुने अन्य कुनै देशमा प्रचलनमा रहेको यस मापदण्ड सरहको प्रदूषण मापदण्ड र यस मापदण्डबीच भिन्नता देखिएमा सवारी साधनबाट हुने उत्सर्जनमा रहने प्रदूषण कारक तत्वको अधिकतम सीमा सम्बन्धमा नयाँ मापदण्डमा तोकिएका सीमा मान्य हुने समेत प्रदूषण मापदण्डमा उल्लेख छ ।
