Back To Top

March 16, 2025

महिलाहरुको भूमिका थप बढाउनु पर्ने छ

Global Ime Bank

राजेशकुमार अग्रवाल
-अध्यक्ष नेपाल उद्योग परिसंघ

नेपाल उद्योग परिसंघले उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको छाता संगठनको रुपमा मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रबद्र्धन, रोजगारी सिर्जना गर्दै देशको समग्र आर्थिक, सामाजिक विकासमा बलियो साझेदारको रुपमा महत्वपूर्ण योगदान गर्दै आएको छ । परिसंघले समग्र आर्थिक विकासलाई केन्द्रमा राखी सोही अनुरुपका नीतिगत सुझावसँगै नेपाल सरकारले अगाडि सारेका योजनालाई सफल बनाउन सहकार्य, समन्वय गर्दै आइरहेको छ ।

संस्थागत रुपमा नेपाल उद्योग परिसंघले महिलाहरुलाई उच्च प्राथमिकतामा राख्दै उहाँहरुको भूमिकालाई गहन रुपमा बुझेका छौं । परिसंघ सचिवालयमा ५० प्रतिशत भन्दा बढी महिला कर्मचारीहरु नै हुनुहुन्छ । नेपाल सरकारले पनि राजनीतिक, आर्थिक रुपमा महिलाहरुको सहभागिता बढाउन, महिला सशक्तिकरणका लागि कानुनी एवं नीतिगत रुपमा प्रोत्साहन नै गरेको देखिन्छ । सरकारले आयकरमा महिलाहरुलाई १० प्रतिशत छुट दिएको छ ।

सम्पत्तिमा महिलाहरुको सहभागिता बढाउँदै आर्थिक रुपमा समेत बलियो बनाउन जग्गा पास गर्दा २५ प्रतिशतसम्म छुट दिइएको छ । यसैगरी महिला उद्यमशीलता कर्जाको व्यवस्था गरिएको छ । यद्यपी यो व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याइएको छ । महिला उद्यमशीलता कर्जा नपाएको गुनासो उद्यमी महिलाहरुबाट आएका छन् । यसतर्फ सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु । त्यसैले राज्यले महिलाहरुलाई प्रोत्साहन गर्दै नगरेको होइन, गरिरहेको छ । थप प्रोत्साहन गर्नुपर्छ भन्नेमा परिसंघ स्पष्ट छ ।

सार्वजनिक निकायमा महिलाहरुको सहभागिता बढाउनुपर्ने हो की भन्ने हामीलाई लागेको छ । महिलाले नेतृत्व गरेको संस्थामा असल शासन हुन्छ भन्ने मान्यता विश्वव्यापी रुपमा नै रहेको पाइन्छ । त्यसैले नेपालको औद्योगिक तथा आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरूको भूमिका महत्वपूर्ण छ, महिलाहरुको भूमिका थप बढाउनुपर्ने आवश्यकता पनि छ ।

नेपालमा महिला उद्यमशीलताको विकास सकरात्मक रुपमा बढिरहेको पाउन सकिन्छ । नेपालका महिला उद्यमीहरूले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकलालगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका छन् । साना साना व्यवसायमार्फत भएपनि मुलुकको अर्थतन्त्रमा महिलाहरुको योगदान बढ्दै गईरहेको छ । महिलालाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारको रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता हो । देशले अवलम्बन गरेको नीतिगत व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आर्थिक विकासको महत्वपूर्ण आधार महिला पनि हुन भन्ने मान्यतालाई अगाडि बढाउन आवश्यक छ । यसका लागि नेपाल उद्योग परिसंघ नेपाल सरकारसँग सहकार्य गर्न तत्पर छ।

राजनीतिक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता न्यूनतम सीमा हो, अधिकतम होइन । त्यसैले राजनीतिक क्षेत्रमा लैंगिक समानता हासिल गर्न महिलाको प्रतिनिधित्वलाई बढाउन आवश्यक छ । महिलाको आवाज र कथाहरू समान रूपमा प्रतिनिधित्व हुने र कार्यान्वयनमा आउन सक्ने गरी नीति निर्माणमा महिलाहरूको सहभागिता बढाउन आवश्यक छ ।

महिलाको आत्मनिर्भरता उनीहरूको वित्तीय पहुँचसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । महिला उद्यमीहरूले आफ्नो ज्ञान र सीपको अधिकतम उपयोग गर्न ऋण पहुँचको सीमा वृद्धि गर्न आवश्यक छ । लघु, घरेलु, साना र मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्न महिला लक्षित ऋण संरचनामा सुधार गर्न आवश्यक छ ।

महिलाहरू समान रूपमा शक्ति र स्रोतको पहुँचबाट वञ्चित छन् भन्ने बुझ्नुपर्छ । पुरुषहरूले महिलाहरूलाई नेतृत्वको स्थान दिन, आफ्नो शक्ति र स्थान साझा गर्न, र आवश्यक परेमा त्यस्ता स्थानहरू छोडेर महिलाहरूलाई सुरक्षित र आत्मविश्वासका साथ अगाडि बढ्न सहयोग गर्नुपर्छ । लैंगिक समानता भनेको पुरुष र महिलाको अनुपात मिलाउने विषय मात्र नभई सुरक्षित वातावरण सिर्जना गर्नु, नेतृत्व तहमा जान सहज बनाउनु पनि हो ।
महिलाहरू विश्व अर्थतन्त्रमा एक ठूलो, तर पूर्ण रुपमा प्रयोग गर्न नसकिएका स्रोत हुन् । लैङ्गिक असमानता हटाउँदै शिक्षा, रोजगार, उद्यमशीलता, र नेतृत्वका अवसरहरू बढाउन सकिए समाजले महिलाको पूर्ण आर्थिक सम्भावनालाई उपयोग गर्न सक्छ । महिला सशक्तिकरणमा लगानी गर्दा यसको प्रत्यक्ष प्रभाव पारिवारिक आम्दानी, सामुदायिक समृद्धिसँगै अर्थतन्त्रको विकाससँग समेत पर्दछ । लैङ्गिक समानता सुनिश्चित गर्नु मात्र नैतिक आवश्यकता होइन, यो असाधारण आर्थिक प्रगति र दिगो विकासतर्फको रणनीतिक मार्ग पनि हो । लैङ्गिक पारिश्रमिक असमानतालाई हटाउने, महिलाको उद्यमशीलता प्रवद्र्धन गर्ने, र वित्तीय स्रोत तथा अवसरहरूमा महिलाको पहुँच बढाउने उपायहरूबारे यस सत्रमा बहस हुनेछ भन्ने विश्वास लिएको छु ।

महिला उद्यमीहरूका लागि प्रविधि एउटा शक्तिशाली उपकरण हो, जसले परम्परागत अवरोधहरू पार गर्दै दिगो व्यवसाय अभ्यासलाई सक्षम बनाउन सहयोग गर्छ । महिला उद्यमीहरूले उद्योगहरू रूपान्तरण गरिरहेका छन् र दिगोपनतर्फको परिवर्तनलाई नेतृत्व गरिरहेका छन् । प्रविधिले महिलाहरूलाई आफ्नो व्यवसायलाई विश्वव्यापी बजारसम्म विस्तार गर्न मद्दत गर्छ, जसले परम्परागत व्यापार मोडेलमा प्रायः नजरअन्दाज गरिएका समुदायहरूलाई पनि लाभान्वित गर्छ ।

(महिला उद्यमी सम्मेलनको उद्घाटनका क्रममा व्यक्त मनतब्यको सम्पादित अंश)

Prev Post

मध्यभोटेकोशी र प्रसारण लाइन निर्माणमा ताकेता

Next Post

कुलमानसँगको टक्करमा ठक्कर खाँदै मन्त्री खड्का

post-bars

Leave a Comment