काठमाडौं । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वकै पहिलो व्यक्ति बनेका छन् जसको कुल सम्पत्ति ५०० अर्ब डलर पुगेको छ । फोर्ब्सको रिपोर्टअनुसार यो उपलब्धि बुधबार सार्वजनिक भएको हो ।
मस्कको सम्पत्ति केवल टेस्लामा मात्र सीमित छैन । उनको अन्तरिक्ष कम्पनी स्पेसएक्सको हाल मूल्यांकन ४०० अर्ब डलर पुगेको छ । यसमामस्कको ४२ प्रतिशत स्वामित्व छ, जसको मूल्य करिब १६८ अर्ब डलर हुन्छ । त्यसैगरी, उनले २०२३ मा सुरु गरेको कृत्रिम बौद्धिकता कम्पनीलाई सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) सँग गाभेका थिए । यो संयुक्त कम्पनीको मूल्य ११३ अर्ब डलर पुगेको छ, जसमा मस्कको ५३प्रतिशत स्वामित्व करिब ६० अर्ब डलर बराबर पर्छ ।
मार्च २०२० मा मस्कको कुल सम्पत्ति २४.६ अर्ब डलर मात्र थियो । तर टेस्ला र स्पेसएक्सका सेयर बढ्दै गएपछि उनी अगस्त २०२० मा १०० अर्बडलर क्लबमा पुगे । जनवरी २०२१ मा उनी विश्वकै धनी व्यक्ति बने । त्यसपछि सेप्टेम्बर २०२१ मा २०० अर्ब, नोभेम्बर २०२१ मा ३०० अर्ब रडिसेम्बर २०२४ मा ४०० अर्ब डलर पुगेका थिए । अहिले उनले ५०० अर्ब डलर पार गर्दै अर्को नयाँ माइलस्टोन हासिल गरेका छन् ।
विशेषज्ञहरूले अनुमान गरेका छन् कि मस्क यही गतिमा अघि बढेमा सन् २०३३ सम्ममा उनी विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्ति भएका व्यक्ति बन्न सक्छन् । मस्कले भने यो केवल पैसाको कुरा नभई भविष्यका प्रविधि र व्यवसायमा आफ्नो प्रभाव कायम राख्ने अवसर भएको बताएका छन्।