साढे १७ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौँ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड र बङ्गलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
गत वर्ष भारतबाट १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको छ । यस अनुसार नेपालले विद्युत् व्यापारमा खुद निर्यातक बन्न सकेको छ । बङ्गलादेशसँग भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) मा निर्यात गर्ने गरिएको छ । साथसाथै भारतमा एनभिभिएनमार्फत मध्यकालीन सम्झौताका आधारमा पनि विद्युत् व्यापार हुने गरेको छ । नेपालले अहिले भारतको विभिन्न राज्यमा दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको जनाइएको छ ।
