बंगलादेश विद्युत् निर्यात सुरु

काठमाडौं :
नेपालले शनिबारबाट बंगलादेशलाई यस वर्षको ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ । अहिले उत्पादित विद्युत्ले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो ।
गत वर्ष नोभेम्बर १५का दिन नेपालबाट एक दिनमात्र विद्युत् बंगलादेश निर्यात भएको थियो । डलरमा हुने नेपालको विद्युत् निर्यात असार १ देखि कात्तिक मसान्तसम्म दैनिक निर्यात हुनेछ । नेपालबाट भारतीय पूर्वाधार प्रयोग गर्दै तेस्रो देशमा विद्युत् निर्यात हुन लागेको हो ।
नेपालबाट ४० मेगावाट विद्युत भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत प्राधिकरण, एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन, भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्छ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्छ ।
