लक्ष्मी पूजामा विद्युत्को उच्चतम खपत १६५० मेगावाट

काठमाडौँ : यस वर्षको तिहारअन्तर्गत लक्ष्मी पूजाको साँझ देशभर विद्युत् खपत १६५० मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार २०८२ कात्तिक ३ गते (शनिबार) साँझ ६:५० बजेको समयमा यो उच्चतम माग (पीक डिमान्ड) दर्ज भएको हो।
प्राधिकरणका अनुसार उक्त समयमा आन्तरिक खपत १,६५० मेगावाट र भारत निर्यात १,०१५ मेगावाट भएको थियो ।
तिहारको समयमा घर तथा व्यवसायिक क्षेत्रमा उज्यालो बढ्ने भएकाले हरेक वर्ष यस अवधिमा विद्युत् खपत उच्च हुने गर्दछ। यो वर्षको लक्ष्मी पूजाको दिन विगतका वर्षहरूभन्दा बढी माग देखिएको प्राधिकरणले जनाएको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरे ।
ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरु, विद्युत विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशहरुलगायत सम्मिलित टोली विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो ।
विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।
२०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो।
