नेपालमा अमेरिकी सहायता बढाउँछौः लु
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा बीआरआई फ्रमवर्कमा सम्झौता भएपछि ससंकित बनेको अमेरिकाले नेपालमा आर्थिक सहायता थप्दै जाने प्रतिवद्धता जनाएको छ ।
ओलीको चीन भ्रमणकै परिपेक्षामा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज नेपालका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल संगको भेटमा यस्तो प्रतिवद्धता जनाएका हुन् ।
अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका थिए ।
अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरेका थिए । “उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएका थिए,” सचिवालयले जारी गरेको प्रेश नोटमा भनिएको छ ।