ढकालको प्रश्न: निजी क्षेत्रप्रति किन नकारात्मक सोच ?
भैरहवा: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र नै केन्द्रमा पर्ने गरेको बताएका छन् । निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्ने प्रश्न गर्दै उहाँले यसबारे गम्भीर बहस आवश्यक रहेको उल्लेख गरे ।
शनिबार भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले कुनै पनि उद्योग–व्यवसाय सञ्चालन गर्नु व्यवसायीको व्यक्तिगत फाइदाका लागि मात्र नभई आमनागरिक, राज्य र अर्थतन्त्रका लागि समेत महत्वपूर्ण हुने स्पष्ट पारे । उनले व्यवसाय फाइदाजनक नभए दीर्घकालीन रूपमा टिकाउ हुन नसक्ने धारणा व्यक्त गरे ।
“उद्योग–व्यवसाय सञ्चालन गर्नु भनेको रोजगारी सिर्जना गर्नु, राज्यलाई राजस्वमा योगदान गर्नु, पूर्वाधार निर्माणमा सहयोग गर्नु र आमनागरिकले सेवा पाउनु हो भन्ने सन्देश दिनुपर्छ,” अध्यक्ष ढकालले भने, “यस विषयमा आमनागरिकलाई बुझाउन आवश्यक छ ।”
उनले महासङ्घले निजी क्षेत्र, औद्योगिक प्रतिष्ठान तथा कलकारखानालाई हडताल, आगजनी र तोडफोडबाट सुरक्षित क्षेत्रका रूपमा घोषणा गर्न सरकारलाई योजनाबद्ध खाका सहित प्रस्ताव बुझाइसकेको जानकारी दिए । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएझैँ निजी क्षेत्रलाई पनि त्यस्तै प्राथमिकतामा राखिनुपर्ने उनको भनाइ थियो । यस विषयमा वर्तमान मन्त्रिपरिषद्ले यथाशीघ्र निर्णय गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।
राजनीति गर्ने वा जागिर गर्ने व्यक्तिले अवस्था हेरेर काम छोड्न सक्ने भए पनि व्यवसायीले जस्तोसुकै परिस्थितिमा पनि उद्योग–व्यवसाय छाड्न नसक्ने अध्यक्ष ढकालको दाबी थियो । “मेरो कम्पनीअन्तर्गत करिब २० हजार मानिस कार्यरत छन् । एक जनाले पाँच जनाको परिवार पाल्छन् भने करिब एक लाख मानिस प्रत्यक्ष रूपमा आश्रित छन्,” उनले भने, “अरबौँ रुपैयाँ ऋण बोकेर व्यवसाय छोड्ने विकल्प हुँदैन । बैंकले पनि छोड्दैन ।”
निजी क्षेत्र नभएको भए देशको अवस्था कस्तो हुन्थ्यो होला भन्दै प्रश्न उठाउँदै उहाँले सरकारी निकायले वार्षिक तीन हजार ५०० देखि चार हजार जनालाई मात्र रोजगारी दिन सक्ने तर निजी क्षेत्रले कुल रोजगारीको ८६ प्रतिशतभन्दा बढी हिस्सा धानेको उल्लेख गरे । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि महासङ्घको तर्फबाट निरन्तर पहल गरिने उनको भनाइ थियो ।
महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा पनि अध्यक्ष ढकालले जोड दिए । “छोटो समयमा महासङ्घको उचाइ बढेको छ । त्यसलाई निरन्तरता दिन सर्वसम्मत नेतृत्व आवश्यक छ,” उनले भने ।