औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न आग्रह

काठमाडौं ।
औद्योगिक क्षेत्रमा भएको विद्युत् कटौतीलाई प्राधिकरणले गरेको लोडसेडिङ भन्दै निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाले औद्योगिक क्षेत्रमा ऊर्जाको आपूर्ति नियमित गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभरका विभिन्न औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुर्याइरहेको जनाएका छन् ।
महासङ्घले लोडसेडिङका कारण उद्योगहरू ठुलो समस्यामा परेका र नियमित तथा आकस्मिक विद्युत् अवरोधले उद्योगको सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्याइरहेको र त्यसैका कारण उत्पादनमा भारी गिरावट आएको जनाएको छ ।
विद्युत् उपलब्ध नगराइँदा उत्पादनको लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको जनाउँदै परिसङ्घले उद्योगहरूमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको जनाएको छ । यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशङ्कित बनाइएको परिसङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।
सरकारले स्वदेशी उद्योगको प्रवर्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको परिसङ्घको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गर्दै दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन आग्रह गरेको छ ।
परिसङ्घले मुलुकमा विद्युत् बचत हुँदा पनि उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगमा लोडसेडिङ गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन रु भन्ने प्रश्न गरेको छ । विद्युत् कुनै पनि उद्योगका लागि कच्चा पदार्थ भएको भन्दै परिसङ्घले कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव नहुने बताएको छ ।