दरमखोला हाइड्रोको व्यवसायिक उत्पादन सुरु
बागलुङ । दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो ।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको हाइड्रोपावरको उत्पादन क्षमता ९.६ मेगावाट छ ।
सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालीले जिम्मा लिएको छ । गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरी साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको हाइड्रोपावरका इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिए । बर्खामा ९ दशमलव ६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँद याममा ६ दशमलव ६ मेगावाट मात्रै उत्पादन भइरहेको इञ्जिनियर चौधरीले बताए ।
इञ्जिनियर चौधरीले भने, “दरमखोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ, विद्युत्गृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सवस्टेशनमा जोडिएको छ, प्रसारण लाइनमा एक महिना अगाडि नै जोडे पनि व्यावसायिक उत्पादन भने अहिले बल्ल नियमित हुन थालेको छ, बर्खामा ९ दशमलव ६ मेगावाट उत्पादन गर्न सकिने भए पनि अहिले सकिदैन ।”