सहकारीपीडितको तीन अर्ब ७१ करोड फिर्ता

काठमाडौँ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार ६५४ फिर्ता तथा हिसाब मिलान गर्न सफल भएको छ ।
समितिका अध्यक्ष श्रीमणकुमार गौतमका अनुसार सहकारीका ६१ हजार ९४ बचतकर्ताले आफूहरुको रु ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार ७३० बचत हिनामिना, अपचलन र दुरुपयोग भएको भनी उजुरी दिएका थिए ।
समितिका अनुसार अब रु ३४ अर्ब ७१ करोड ३० लाख २७ हजार ७६ बचत फिर्ता गर्न बाँकी छ । सहकारीको सिद्धान्त, मर्म र उद्देश्य विपरीत बचतकर्ताको बचत हिनामिना, अपचलन र दुरुपयोग गर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मेवारी समितिले लिँदै आएको छ ।
त्यस क्रममा समितिले हालसम्म २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेकामा तीनवटा सहकारीको रकम फिर्ता र हिसाब राफराफ गरिरहेको छ ।
सोही क्रममा समितिले गत कात्तिकदेखि यही असार १५ गतेसम्म सङ्कलित रु २९ करोड ८२ लाख आठ हजार १२८ सहकारीका ५६ हजार १०६ जनालाई बचतकर्तालाई फिर्ता गर्न प्रस्ताव गरेको छ ।
सङ्कलित रकम बचतकर्ताको बचतको तुलनामा ४१ देखि ५७ प्रतिशत मात्रै भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
समितिको हालसम्मको अध्ययनबाट बचतकर्ताको अपचलन भएको शत्प्रतिशत रकम फिर्ता दिनसक्ने सम्भावना ज्यादै न्यून भएको समितिका सदस्यसचिव केशवप्रसाद पौडेलले जानकारी दिए। समस्याग्रस्त सहकारीमा फसेको बचतकर्ताका अधिकतम बचत फिर्ता गर्न हरसम्भव प्रयत्न भइरहेको उनको भनाइ थियो । समितिसँग रकम अपचलन गर्ने सहकारीको स्वामित्व आफूले लिई सञ्चालकको सम्पत्ति र कारोबार रोक्का गर्ने अधिकार छ ।
समितिले सहकारीको ऋण असुली, सम्पत्ति बेचबिखन र सङ्कलित रकम फिर्ता गर्ने कार्यलाई योजनाबद्ध रुपमा अघि बढाइरहेको सदस्य काशिचन्द्र बरालले बताए ।
