अर्थतन्त्र आगामी चुनावको साझा एजेण्डा बनोसः अध्यक्ष ढकाल
स्याङ्जा।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् ।
बुधबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उदघाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन र सबैको साझा एजेण्डा बनाउन आग्रह गरेका हुन् ।
उनले भने, “राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो । देशमा यतिखेर संसदको निर्वाचनको तयारी भइरहेको छ । सबै दलको साझा एजेण्डा आर्थिक विकास बनोस् । म सबै दललाई यही आग्रह गर्न चाहन्छु ।”
साथै अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरुले आआफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेण्डाहरुलाई समावेश गर्न पनि आग्रह गरे ।
उनलाई औद्योगिक विकासका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्न निजी क्षेत्रले लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेण्डाहरु राज्यसामु राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेण्डाले प्राथमिकता पाउनुपर्ने उनको तर्क थियो ।