बाफिया संशोधनले आर्थिक गतिविधि नै प्रभावित पार्ने

काठमाडौं ः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन् ।
बाफियासँग सम्बन्धि ऐन संशोधन गर्न संसद्मा प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनु पर्ने उनको तर्क थियो ।
“व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत शेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्था अनुसार १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन् ।” ढकालले भने ।
उनले बजेट कार्यान्वयन गर्न सके नेपालले लिएको आर्थिक विकासको लक्ष्य पुरा गर्न सकिने समेत बताए । यस्तै अध्यक्ष ढकालले वातावरणलाई असर नपर्ने गरी खनिजजन्य पदार्थको आन्तरिक प्रयोग र निर्यात गर्न सकिने बजेटको व्यवस्था सकारात्मक भएको बताएका छन् ।
