काठमाडौं ।
नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन नेपाल चेम्बर अफ कमर्सले भियतनामकी उपराष्ट्रपति भो थी आन्ह जुआन काठमाडौंमा छलफल सम्पन्न गरेको छ । छलफलमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठ सहितका पदाधिकारीहरुको सहभागिता थियो ।
बैठकमा दुवै देशबीचको व्यापारिक पहुँच विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवद्र्धन तथा आपसी सहकार्यका सम्भावनाबारे महत्वपुर्ण छलफल भएको हो ।
नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुरा भएको अवसरमा भएको भेटलाई चेम्बरले व्यापार, लगानी र आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने महत्वपूर्ण सम्भावनाको रुपमा हेरेको छ । उपराष्ट्रपति जुआनले नेपाल चेम्बर अफ कमर्स र भियतनामबीच द्विपक्षीय व्यापार विस्तार तथा लगानी प्रवाहलाई सहज बनाउन दुवै देशका निजी क्षेत्रबीच घनिष्ठ समन्वय आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
उपराष्ट्रपति आन्ह जुआनले नेपाल र भियतनामबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै देशका निजी क्षेत्रको सक्रियता अपरिहार्य हुनेमा जोड दिइन् । उनले चेम्बर प्रतिनिधीहरु समक्ष भियतनामको भ्रमण गर्न र सम्भावित लगानीका क्षेत्रमा भियतनामको चेम्बरसंग सहकार्य गर्न सुझाव दिइन् ।
चेम्बर अफ कमर्सले नेपाल–भियतनामबीच कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधि जस्ता क्षेत्रमा सहयोग तथा साझेदारीको अपार सम्भावना रहेको भन्दै व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको छ । चेम्बरले भियतनामसँगको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।