Back To Top

February 10, 2026

बजेटसम्बन्धी अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक

Global Ime Bank AD
Insourance

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्णरूपमा खर्च हुन नसक्ने निष्कर्षसहित खर्चको लक्ष्य घटाएको छ । अर्थमन्त्री रामेश्वर खनालका अनुसार चालु आवमा करिब १६ खर्ब ३२ अर्बमात्रमात्रै बजेट खर्च हुने अनुमान गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । बजेट कार्यान्वयनका क्रममा निर्वाचनसम्बन्धी खर्च व्यवस्थापन गर्नुपर्ने, स्रोतको अभाव तथा केही प्राविधिक कारणले अपेक्षित खर्च सम्भव नदेखिएकाले खर्च लक्ष्य घटाइएको मन्त्री खनालले बताए ।

उनका अनुसार हाल नेपाल सरकारको सञ्चित कोषमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ मात्रै नगद मौज्दात रहेको छ, जसका कारण खर्चमा नियन्त्रण आवश्यक भएको हो । साथै, चालु आवमा पुँजीगत खर्च अनुमानभन्दा करिब २१ प्रतिशत कम हुने प्रक्षेपण पनि गरिएको छ ।

प्रतिवेदनअनुसार सरकारी राजस्व संकलन उच्च दरले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । मुलुकसँग हाल २२ अर्ब ४७ करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ। शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति घटेर १.७ प्रतिशतमा सीमित भएको छ । यस अवधिमा निक्षेपको औसत ब्याजदर ३.५६ प्रतिशतमा झरेको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार विश्व अर्थतन्त्र ३.३ प्रतिशत, छिमेकी मुलुक भारतको अर्थतन्त्र ७.३ प्रतिशत र चीनको ५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ३.० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

यसैबीच नेप्से सूचकांक २६४१.४४ बिन्दुमा कायम भएको छ भने कुल बजार पुँजीकरण ४४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । बैंकिङ क्षेत्रतर्फ निजी क्षेत्रमा प्रवाह भएको कर्जा ६.७ प्रतिशतले बढेर करिब ५७ खर्ब रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ५.७ प्रतिशतले बढेर ७६ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ ।

United long banner ad
Prev Post

ठूला वाणिज्य बैंकको निष्क्रिय कर्जा उच्च

Next Post

उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना

post-bars

Leave a Comment